सिटिजन्स बैंकद्वारा कर्मचारी दिवसका अवसरमा ६२ कर्मचारीलाई दीर्घ सेवा सम्मान


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो स्थापनाको १९औँ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा ‘कर्मचारी दिवस’ मनाएको छ । आइतबार चैत १ गते बैंकले एक विशेष कार्यक्रमको आयोजना गरी बैंकमा लामो समयदेखि कार्यरत ६२ कर्मचारीहरूलाई ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेको हो ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले १० वर्ष सेवा पूरा गरेका ४८ जना र १५ वर्ष सेवा पूरा गरेका १४ जना कर्मचारीहरूलाई प्रशंसा पत्रसहित ‘दीर्घ सेवा सम्मान’ बाट सम्मानित गर्नुभयो । हालसम्म बैंकमा १० वर्ष सेवा गर्ने २९० जना र १५ वर्ष सेवा गर्ने ६६ जना कर्मचारी पुगेका छन् ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकलाई नयाँ उचाइमा पुर्‍याउन कर्मचारीहरूको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले कर्मचारीहरूलाई आगामी दिनमा अझ बढी जिम्मेवार, लगनशील र प्रतिबद्ध भई ग्राहकको सेवामा समर्पित हुन आग्रह गर्नुभयो । १९ वर्षअघि वैशाख ७ गते ४३ जना कर्मचारीबाट सेवा सुरु गरेको यस बैंकमा हाल १ हजार ७ सय ६४ कर्मचारीहरू कार्यरत रहेका छन् ।

‘बैंक अफ द इयर २०२४’ र ‘२०२५’ को उपाधिबाट सम्मानित यस बैंकले पछिल्लो समय प्रविधिमैत्री सेवामा जोड दिइरहेको छ । बैंकले नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ र भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

साथै, बैंकले युवा पुस्तालाई लक्षित गर्दै “सिटिजन्स जेन-जी सेभिङ्ग एकाउन्ट” र फ्रिलान्सरहरूका लागि “फ्रिलान्सर सेभिङ्ग एकाउन्ट” जस्ता नयाँ निक्षेप योजनाहरू पनि सञ्चालनमा ल्याएको विज्ञप्तिमा उल्लेख छ । हाल सिटिजन्स बैंकले देशभरका २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग इकाइहरू मार्फत करिब १९ लाख ९७ हजार ग्राहकहरूलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।