‘जेनजी आन्दोलनको बुझाइ: मूल कारण, वास्तविकता र सबल नेपालका लागि मार्गचित्र’ प्रतिवदेन सार्वजनिक

1.1k
Shares

काठमाडौं । अर्थमन्त्रालयले जेनजी आन्दोलनको बुझाइ: मूल कारण, वास्तविकता र सबल नेपालका लागि मार्गचित्र नामक प्रतिवदेन सार्वजनिक गरेको छ ।

त्रिभुवन विश्वविद्याल अन्तर्गतको अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा रामप्रसाद ज्ञवाली, डा प्रांशु नेपाल र डा दिपकबहादुर अधिकारीको टीमले प्रतिवेदन तयार गरेको हो ।

प्रमुख ज्ञवालीले जेनजी आन्दोलनको सामाजिक, आर्थिक र प्रशासनिक कारणहरूको पहिचान गर्नु यस अध्ययनको पहिलो उद्देश्य रहेको बताएका छन् । दोस्रोमा, डिजिटल इकोनोमी, भ्रष्टाचार र सुशासनका सम्बन्धमा ‘जेन्जी’ पुस्ताको अवधारणा बुझ्नु रहेको उल्लेख गरे । तेस्रोमा, यो मुभमेन्टले अर्थतन्त्रमा पारेको प्रभाव र चौथोमा, युवा पुस्तालाई कसरी मूलधारमा ल्याउन सकिन्छ भन्ने विषयमा अध्य गरी आवश्यक सुझाव दिने कार्यादेश रहेकोमा त्यसमा रहेर आफूहरूले अध्ययन प्रतिवेदन तयार गरेको उनको भनाइ छ ।

प्राडा रामप्रसाद ज्ञवाली

प्रतिवेदन तयार गर्न आफूहरु सातवटै प्रदेशका मुकामहरूमा पुगेर ४०० भन्दा बढी व्यक्तिहरूमाझ सर्वेक्षण गरेको उनको भनाइ छ । अर्थमन्त्री रामेश्वर खनालले यस्तो समिति गठन गरेका थिए ।

व्यवसायी, एफएनसीसीआईका प्रतिनिधि, सुरक्षा निकाय, प्रशासनिक संयन्त्र र स्थानीय तहका जनप्रतिनिधिहरूसँग गुणात्मक अन्तर्वार्ता लिएको उनको भनाइ छ । मुख्यगरी ३५ वर्ष मुनिका युवाहरूको भावना बुझेर रिपोर्ट तयार पारिएको उनको भनाइ छ । प्रतिवेदनमा ५० भन्दा बढी सुझावहरु सिफारिस गरीएको छ ।

‘हाम्रो प्रमुख सुझावहरुमा राजनीतिक दलहरूले आफ्नो चरित्र परिवर्तन गर्नुपर्छ भन्ने हो । राजनीतिलाई पेशा नभई देश र लोक सेवाको पवित्र कार्यका रूपमा अघि बढाउनुपर्छ,’ उनले भने, ‘दोस्रो, निजी क्षेत्रको खस्कँदो मनोबललाई उकास्न उनीहरूलाई आश्वस्त पार्नुपर्ने आवश्यकता छ । तेस्रो सुझावमा आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माणलाई प्राथमिकता दिनु हो । सरकारी क्षेत्रमा ५३ प्रतिशत, निजी क्षेत्रमा ४० प्रतिशत र सामुदायिक क्षेत्रमा ७ प्रतिशत क्षति भएको छ। यसको पुनर्निर्माणले बजारमा आत्मविश्वास बढाउनुका साथै अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ ।’

सेवा प्रदायक निकायहरू जस्तै– अदालत, मालपोत, यातायात र नगरपालिका कार्यालयहरूमा सुशासन नहुनु र घुसखोरी बढ्नु नै आगजनीको मुख्य कारण देखिएकाले सार्वजनिक सेवा प्रवाहमा सुधार र भ्रष्टाचार नियन्त्रण अनिवार्य रहेको उनको भनाइ छ ।

राजनीतिक नेतृत्व र उनीहरूका सन्ततिहरूको सामाजिक सञ्जालमा देखिने विलासी जीवनले युवा पुस्तामा वितृष्णा जगाएको पाइएको भन्दै उनले उनीहरूको जीवनशैलीमा परिवर्तन आउनुपर्ने बताए ।

‘निजी क्षेत्र पनि इमानदार हुनुपर्छ; समयमा कर तिर्ने र तल्लो तहका जनता जोडिने गरी लगानी गर्ने हो भने जनतामा अपनत्व महसुस हुन्छ। साथै, राजनीति र व्यापारलाई अलग गर्नुपर्छ । व्यापारमा लागेकाहरू शुद्ध रूपमा व्यवसायमै केन्द्रित हुनुपर्छ ताकि राजनीतिक आक्रोशले व्यवसायिक युनिटहरू भिक्टिम नबनुन्,’ उनले भने, ‘उदाहरणका लागि, भारतमा टाटा कम्पनीप्रति जनताको ठूलो विश्वास छ किनभने उसले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा लगानी गरेर अपनत्व सिर्जना गरेको छ। नेपालमा पनि निजी क्षेत्रले गरिबी निवारण र सेवा सुविधामा योगदान पुर्याएमा जनताले नै त्यसको संरक्षण गर्नेछन्। निजी क्षेत्र अर्थतन्त्रको शत्रु नभई ७० प्रतिशत लगानी गर्ने मुख्य साझेदार हो भन्ने कुरालाई बिर्सनु हुँदैन ।’