धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको रिट हेर्न नमिल्नेमा, अब सुनुवाइ कहिले ?

490
Shares

काठमाडौं । धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’मा परेको छ ।

शुक्रबार उक्त रिटको सुनुवाइ न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा तोकिएको थियो । तर न्यायाधीश सुवेदीले यसअघि बिहीबार मात्रै सोही विषयसँग सम्बन्धित रिटमा अन्तरिम आदेश जारी गरेकोले उक्त रिट आफूले हेर्न नमिल्ने बताएपछि रिट हेर्न नमिल्नेमा परेको हो ।

कमलले दायर गरेको रिटमा बिहीबार सुवेदीकै इजलासले अन्तरिम आदेश जारी भएको थियो ।

कर्जा सूचना केन्द्रले किशोरी साह कमलको नाम कालोसूचीमा राखेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।

उम्मेदवारी खारेज भएपछि उनले दुई वटा रिट दायर गरेका थिए । पहिलो रिटमार्फत उनले निर्वाचन आयोगको निर्णय बदर गरी उम्मेदवारी कायम गर्न माग गरेका थिए भने अर्को रिट कालोसूचीविरुद्ध थियो ।

निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा पहिलो सुनुवाइ फागुन २५ गते भएको थियो र दुबै पक्षलाई छलफलका लागि फागुन २९ गते बोलाइएको थियो । तर आज‘हेर्न नमिल्ने’मा परेको हो ।

यसबीच निर्वाचन आयोगले धनुषा–१ मा नेपाली कम्युनिस्ट पार्टीका मातृका यादवलाई निर्वाचित घोषणा गरिसकेको छ।
अब उनको उम्मेदवारी सम्बन्धी विवादबारे सर्वोच्च अदालतको आइतबार बस्ने इजलासले निर्णय गर्ने भएको छ।