धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

0
Shares

काठमाडौं । आफूलाई कालोसूचीमा राखेको भन्दै धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साह कमलले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

साहले उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश दिएको हो भने कारणदेखाउ आदेश जारी गरेको छ ।

आफ्नो नाम गलत ढंगले कालोसूचीमा राखिएको दाबी गर्दै साह सर्वोच्च अदालत पुगेका थिए । इजलासले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

निर्वाचनको दुई दिनअघि मात्रै आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध उनले सर्वोच्चमा दिएको रिटमाथि शुक्रबारका लागि पेसी तोकिएको छ।

उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’मा उल्लेख्य मत परेको थियो । तर उक्त क्षेत्रमा आयोगले नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मातृका यादवलाई निर्वाचित भएको घोषणा गरिसकेको छ।