सडक स्तरोन्नती थालियो
म्याग्दी । सदरमुकाम बेनी बजारसँगै जोडिए पनि यातायात सेवाबाट वञ्चित बेनी नगरपालिका–२ ज्यामरुककोटका विभिन्न सडक स्तरोन्नती गर्ने काम थालिएको छ ।
ज्यामरुककोटका विभिन्न वस्तीलाई जोड्ने सडकमा यातायातका साधन सञ्चालन गर्न वडा र नगरपालिका कार्यालयले स्तरोन्नतीको काम शुरु गरेका हुन् । चालु आवमा ४३ लाख रुपैयाँको लागतमा सातवटा सडकको स्तरोन्नती शुरु गरेको वडाध्यक्ष हीराबहादुर थापाले जानकारी दिए ।
सडक फराकिलो बनाउने, ग्रेड मिलाउने, नाली बनाउने, ग्राभेल गर्नेलगायत काम गरिने उनले बताए ।
२० लाख रुपैयाँ विनियोजन गरिएको खबरा–भीरकुना–कन्थारथान–भकुण्डे सडकको काम उपभोक्ता समिति गठन गरेर भइरहेको छ ।
यस्तै, ५ लाख रुपैयाँमा बाङगेरा–पिपलडाँडा–भकुण्डे सडक फराकिलो बनाउने काम अन्तिमचरणमा पुगेको छ । सो सडकमा सोलिङ र नाली बनाउने काम बाँकी छ । कोटखोला–उपल्लोफाँट–बालथारा हुँदै मरुवा सडक फराकिलो बनाउने काम सकिएको छ ।
यसैगरी, ५ लाख रुपैयाँ विनियोजन भएको दारीम्बोट क्षेत्रमा सडक विस्तारसँगै सिँचाइ कुलो निर्माण भइरहेको छ । वडा कार्यालय रहेको भकुण्डे–काउनाखर्क–गौश्वारा सडकअन्तर्गत ४०० मिटर ट्रयाक खोल्ने र स्तरोन्नती गर्न ५ लाख रुपैयाँ विनियोजन गरिएको वडाध्यक्ष थापाले बताए । बिमीराबोट–मालीका सडक फराकिलो बनाउन तथा ठूलोगैरा–बिरायचौर सडकलाई डेढ÷डेढ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सिँचाइ योजनाको बजेट कटौती
बजेट कटौती भएपछि मंगला गाउँपालिका–२ सिमलचौरमा सञ्चालित नेवारेखोला सिँचाइ आयोजना अलपत्र परेको छ । सिँचाइ विकास सव डिभिजन कार्यालय बेनीले गत आवमा सुरु गरेको सो आयोजनामा चालु आवमा पर्याप्त बजेट विनियोजन नहुँदा अलपत्र परेको हो ।
चालु आवभित्र सकिनुपर्ने सो आयोजनाको बाँकी नहर निर्माण अझै सुरु हुन नसकेको स्थानीय कृषक खगराज पौडेलले बताउनुभयो । कस्केरी र सिमलचौरको २५ हेक्टर खेतमा सिँचाइ सुविधा पुर्याउन ८ सय मिटर पक्की नहर निर्माण गर्ने लक्ष्यसहित उक्त आयोजना सुरु भएको थियो ।
सिमलचौरतर्फ थप ३ सय ७३ मिटर पक्की नहर निर्माण गर्न बाँकी छ । आयोजना निर्माणका लागि रामकृष्ण कन्स्ट्रक्सनसँग ३४ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । यसवर्ष २६ लाख रुपैयाँ बजेट आवश्यक पर्नेमा ३ लाख रुपैयाँ मात्र विनियोजन भएको छ । कन्स्ट्रक्सनका सञ्चालक प्रदीप सापकोटाले बजेट अभावमा कामअघि बढाउन नसकेको बताए । उपभोक्ता समितिमार्फत गर्ने कामका लागि ११ लाख रुपैयाँ लागत अनुमान गरिए पनि सो बजेट प्राप्त नभएको उनको भनाइ छ ।
सव डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर दिनेशप्रसाद आचार्यले काम नभएको आयोजनाको बजेट रकमान्तर गरेर क्रमागत आयोजना सम्पन्न गराउन पहल गरिएको बताए ।
रघुगंगाको कार्यालय स्थापना
रघुगंगा गाउँपालिकाले स्थायी केन्द्र मौवाफाँटमा कार्यालय सञ्चालन गरेको छ । केन्द्र विवादका कारण स्थापनाकालदेखि सदरमुकाम बेनीबाट सञ्चालन हुँदै आएको थियो । मौवाफाँटमा घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको सो गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । गाउँपालिकाको प्रशासनिकलगायत सबै गतिविधि मौवाफाँटबाट सञ्चालन हुने अध्यक्ष भण्डारीले बताए ।
गाउँपालिका घोषणा हुँदा अस्थायी केन्द्र पाखापानी तोकिएपछि पिप्ले, भगवती र बेगखोलका बासिन्दाले आन्दोलन गरेका थिए । गाउँपालिकाका दुई तिहाई जनप्रतिनिधिको मतका आधारमा पाखापानीबाट मौवाफाँटमा केन्द्र स्थानान्तरण गर्ने निर्णय भएको हो ।