
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफ्नो निर्वाचन क्षेत्र गोरखामा देखिएको सञ्चार समस्या समाधानका लागि पहल थालेका छन् ।
बिहीबार गुरुङले नेपाल टेलिकमको केन्द्रीय कार्यालय पुगेर गोरखाका दुर्गम बस्तीहरूमा सञ्चार सेवा विस्तार गर्न औपचारिक रूपमा माग राखेका हुन्।
गुरुङले बुझाएको पत्रमा गोरखाका आरुघाट, बागुवा, फिनाम, थुमी, माझिखोला, डुल, सिरानचोक र लिथोडाँडा लगायत करिब ११ भन्दा बढी स्थान अझै पनि टेलिकमको नेटवर्क पहुँचबाहिर रहेको भन्दै सेवा विस्तारका लागि आग्रह गरिएको छ ।
सञ्चारजस्तो आधारभूत सेवाबाट नागरिक अझै वञ्चित हुनु दुःखद भएको उल्लेख गर्दै उनले ती क्षेत्रमा शीघ्र टावर जडान गरी सेवा विस्तार गर्न आग्रह गरेका छन् ।
सञ्चार सुविधा अभावका कारण ती क्षेत्रका बासिन्दाले सूचना आदानप्रदान, आकस्मिक सेवा प्राप्ति र विद्यार्थीको पठनपाठनमा समेत समस्या भोग्दै आएको उनले बताएका छन् ।
कार्यकालको सुरुवातमै जनताका आधारभूत समस्या उठाउन सक्रिय बनेका गुरुङको पहलपछि नेपाल टेलिकमले ती स्थानमा प्राविधिक सर्वेक्षण गरी नेटवर्क विस्तारको प्रक्रिया अघि बढाउने जनाएको छ।







प्रतिक्रिया