प्रत्यक्षमा अरू नै पार्टीमा मत दिने ५ लाख मतदाताले समानुपातिकमा ‘घण्टी’मा हाले भोट

कांग्रेस-एमालेका मतदाताले रोजे समानुपातिकमा घण्टी, माटो र हलो

189
Shares

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताले प्रत्यक्षमा आफूलाई मनपर्ने उम्मेदवारलाई भोट हाले पनि समानुपातिकमा भने राष्ट्रिय स्वतन्त्र पार्टी रोजेको पाइएको छ । निर्वाचनको अन्तिम मतपरिणामले नेपाली राजनीतिमा ‘स्प्लिट भोटिङ’को नयाँ प्रवृत्ति देखाएको हो ।

निर्वाचन आयोगको तथ्यांक विश्लेषण गर्दा प्रमुख र पुराना भनिएका दलहरूलाई मतदान गर्ने ५ लाख मतदाताले समानुपातिकतर्फ भने ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ (रास्वपा) लाई रोजेको देखिन्छ । ती मतदाताले प्रत्यक्षतर्फ आफ्ना दलका उम्मेदवारलाई मतदान गरे पनि समानुपातिकतर्फ भने ‘घण्टी’ चुनाव चिह्नमा मतदान गरेका छन् ।

तथ्यांक हेर्दा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको प्रत्यक्षतर्फको मतको तुलनामा समानुपातिक मत निकै कम देखिएको छ । यसको ठीक उल्टो राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा पाएको कुल मतको तुलनामा समानुपातिकमा उल्लेख्य मत जोडेको छ ।

रास्वपाले प्रत्यक्षतर्फ ४६ लाख ८१ हजार १८८ मत पाउँदा समानुपातिकमा ५१ लाख ८३ हजार ४९३ मत पाएको हो । अर्थात् प्रत्यक्षमा अरू दलका उम्मेदवारलाई भोट हाल्ने ५ लाख २ हजार ३०५ मतदातले समानुपातिकमा रास्वपालाई मत दिएका हुन् ।

कांग्रेस, एमाले र नेकपा जस्ता दलहरूका मतदाताले प्रत्यक्षमा आफ्नै उम्मेदवारलाई भोट हाले पनि समानुपातिकमा रास्वपा वा श्रम संस्कृति पार्टी वा राष्ट्रिय प्रजातन्त्र पार्टी रोजेको देखिन्छ ।

कांग्रेसले प्रत्यक्षमा २० लाख ८ हजार मत पाए पनि समानुपातिकमा १७ लाख १९ हजार भोटमात्र ल्याएको छ । कांग्रेसले समानुपातिकमा २ लाख ५० हजार कम मत पाएको हो भने एमालले १ लाख ६७ हजार कम मत समानुपातिकमा पाएको छ । नेकपाका १ लाख ६५ हजार मतदाताले समानुपातिकमा अर्कै दललाई भोट देखिएको देखिन्छ ।

यता समानुपातिकमा मतदाताले परपम्परागत दलको सट्टा रास्वपासँगै श्रम संस्कृति पार्टीलाई रोजेका छन् । कोशी प्रदेशमा त माटो चुनाव चिह्नसाथ लडेको हर्क सामपाङको पार्टी समानुपातिकमा दोस्रो स्थानमा छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समानुपातिकमा प्रत्यक्षभन्दा १ लाख २३ हजार बढी मत पाएको छ ।

पूर्वमन्त्री कुलमान घिसिङको दल उज्यालो नेपाल पार्टीले प्रत्यक्षमा पाएको मत ‍समानुपातिकतर्फत उनको पार्टी राष्ट्रिय परिवर्तन पार्टीको भन्दा ५६ हजार कम छ ।

मतदाताले प्रत्यक्षमा स्थानीय प्रभाव वा व्यक्तिगत सम्बन्धका कारण पुराना दललाई मत दिए पनि परिवर्तनका लागि भन्दै समानुपातिकमा रास्वपा जस्ता नयाँ दललाई रोजेको पाउन सकिन्छ ।

प्रत्यक्ष र समानुपातिकबीच मतको अन्तर ५ लाख हुने एकमात्र दल रास्वपा हो । यसले रास्वपाका उम्मेदवार कमजोर भएका क्षेत्रमा पनि मतदाताले ‘पार्टी’ को रूपमा रास्वपालाई मत दिएको पाउन सकिन्छ ।