
एजेन्सी । बिहीबार भारतीय सम्पत्तिहरूको मूल्यमा गिरावट आएको छ । भारतीय रुपैयाँ (भारु) ऐतिहासिक न्यून स्तरमा झरेको छ ।
कच्चा तेलको मूल्यमा आएको नयाँ वृद्धिले ऊर्जा आपूर्तिमा हुन सक्ने अवरोध र त्यसबाट अर्थतन्त्रमा पर्ने प्रभावको चिन्तालाई पुनः जगाएको छ यद्यपि केन्द्रीय बैंकको हस्तक्षेपले रुपैयाँको गिरावटलाई केही हदसम्म थामेको थियो ।
इरानले मध्यपूर्वभरिका तेल र यातायात केन्द्रहरूमा आक्रमण तीव्र पारेसँगै ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारल १०० डलर पुगेको छ । साथै, इरानले विश्वलाई प्रति ब्यारल २०० डलरको तेलका लागि तयार रहन चेतावनी समेत दिएको छ ।
भारु ०.३ प्रतिशतले घटेर ९२.३५७५ मा पुगेको छ । यसले यसै हप्ताको सुरुमा कायम भएको ९२.३४७५ को अघिल्लो ऐतिहासिक न्यून स्तरलाई उछिनेको छ ।
व्यापारीहरूका अनुसार, भारतको बेन्चमार्क सेयर सूचकांक निफ्टी ५० करिब १ प्रतिशतले घट्यो भने १० वर्षे सरकारी ऋणपत्रको प्रतिफल ४ आधार विन्दुले बढ्यो ।
मुख्यतया केन्द्रीय बैंकको हस्तक्षेपका कारण भारु अझ ठूलो ऐतिहासिक गिरावटबाट जोगिएको उनीहरूले बताएका छन् ।
समग्र एसियाली मुद्राहरू कमजोर भए भने क्षेत्रीय सेयरहरूको एमएससआई सूचकांक १.५ प्रतिशतभन्दा बढीले घट्यो ।
‘हामी भारतीय रिजर्भ बैंकले ९२.३०–९२.३५ को स्तरमा हस्तक्षेप गर्ने अपेक्षा गर्दछौं । यद्यपि, ब्रेन्ट तेलको मूल्य केही समयसम्म उच्च नै रहिरह्यो भने आरबीआईले भारुलाई अझ खस्कन दिनुपर्ने हुनसक्छ,’ विदेशी मुद्रा सल्लाहकार कम्पनी आईएफए ग्लोबलका प्रमुख कार्यकारी अभिषेक गोयन्काले भने ।







प्रतिक्रिया