ओलीले भने- अपेक्षित परिणाम आएन, जनताको फैसला शिरोधार्य गर्नु कर्तव्य

0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि जनताको मतलाई सम्मान गर्ने बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिँदै उनले आफूहरू जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने बताएका हुन् ।

झापा–५ बाट उम्मेदवार रहेका ओली यसपटक पराजित भएका छन् । उनको दल एमालेले प्रत्यक्षतर्फ जम्मा ९ सिट मात्रै जितेको छ ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “यसपटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्छु।”

ओलीले एमालेको पक्षमा मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गरेका छन्। “तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो, तपाईंहरूको साथ नै हाम्रो ताकत हो। निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन,” उनले भनेका छन्।

उनले आफूहरू जनताकै बीचमा रहेर काम गर्ने र विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। साथै मत दिने, साथ दिने र विश्वास गर्ने सबैप्रति हृदयदेखि धन्यवाद दिएका छन्।

यस्तो छ ओलीको भनाइ

दिदीबहिनी तथा दाजुभाइहरू,
यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।
यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो।
निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन।
हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।
मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।