हर्मुज जलयोजकमा तीनवटा मालवाहक जहाजहरूमाथि आक्रमण

539
Shares

एजेन्सी । बुधबार हर्मुज जलयोजकमा तीनवटा जहाजहरू अज्ञात वस्तुको प्रहारमा परेका छन् भनी समुद्री सुरक्षा एजेन्सीहरू र स्रोतहरूले बताएका छन् ।

एउटा प्रहारका कारण जहाजमा आगलागी भएको थियो र अधिकांश चालक दलका सदस्यहरूलाई जहाज छोड्न बाध्य पारेको थियो ।

थाइल्यान्डको झण्डा भएको मयुरी नारी नामक बल्क क्यारियरलाई ओमानबाट करिब ११ नटिकल माइल उत्तरमा निशाना बनाइएको र क्षति पुर्याइएको दुई समुद्री सुरक्षा स्रोतहरूले बताएका छन् ।

युनाइटेड किङडम मेरिटाइम ट्रेड अपरेसनले पछि उक्त घटनालाई उल्लेख गर्दै आगो निभाइएको र कुनै वातावरणीय प्रभाव नपरेको बताएको छ । आवश्यक चालक दलका सदस्यहरू जहाजमै रहेका छन् ।

यसअघि संयुक्त अरब अमिरातको रास अल खैमाहबाट २५ नटिकल माइल (४६ किमी) उत्तर–पश्चिममा जापानको झण्डा भएको कन्टेनर जहाज वान मेजेस्टीमा अज्ञात वस्तुको प्रहारबाट सामान्य क्षति पुगेको दुई समुद्री सुरक्षा स्रोतहरूले बताएका छन् ।

यसका चालक दलका सदस्यहरू सुरक्षित छन् र जहाज सुरक्षित लंगरतर्फ गइरहेको स्रोतहरूले थपेका छन् ।

दुबईबाट करिब ५० माइल उत्तर–पश्चिममा तेस्रो जहाज एक बल्क क्यारियरमा पनि अज्ञात वस्तुले प्रहार गरेको समुद्री सुरक्षा कम्पनीहरूले बताएका छन् ।

उक्त प्रहारले मार्सल टापुको झण्डा भएको स्टार ग्विनेथको तल्लो भागमा क्षति पुर्याएको समुद्री जोखिम व्यवस्थापन कम्पनी भ्यानगार्डले बताएको छ । उसले जहाजका चालक दलका सदस्यहरू सुरक्षित रहेको पनि जानकारी दिएको छ ।

विश्वव्यापी तेल र ग्यास आपूर्तिको करिब २० प्रतिशत हिस्सा ओगट्ने मुख्य मार्ग हर्मुज जलयोजकमा फेब्रुअरी २८ मा इरान द्वन्द्व सुरु भएदेखि यातायात तीव्र रूपमा घटेको छ ।

पछिल्ला घटनाहरूसँगै द्वन्द्व सुरु भएदेखि आक्रमणमा परेका जहाजहरूको संख्या कम्तीमा १४ पुगेको छ ।