३५० जना उम्मेदवारले १ भोट पनि पाएनन्, २८ सय ९० जनाको जमानत जफत

28
Shares

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका हजारौं उम्मेदवारहरूको धरौटी (जमानत) जफत भएको छ ।

निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचनमा २ हजार ८ सय ९० जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेनन् ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले दिएको जानकारीअनुसार निर्वाचनमा भाग लिन चाहने उम्मेदवारले कानूनबमोजिम निश्चित धरौटी रकम राख्नुपर्ने व्यवस्था छ ।

‘जमानत राखेका उम्मेदवारहरूमध्ये जसले सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुहुन्छ, उहाँहरूको जमानत पछि फिर्ता हुन्छ । तर सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारहरूको जमानत जफत हुन्छ । यस्तो जमानत फिर्ता हुँदैन । कानूनमा भएको यही व्यवस्था अनुसार फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ केही उम्मेदवारहरूको जमानत जफत भएको छ । त्यसमा २ हजार ८ सय ९० जना उम्मेदवारको जमानत जफत भएको छ । तीमध्ये ३ सय ५० जना उम्मेदवारको मत नै आएको छैन । उनीहरूको मत परिणाम शून्य देखिएको छ ।’

घिमिरेका अनुसार प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका उम्मेदवारमध्ये ५ सय १६ जनाले मात्रै सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गरेर आफ्नो जमानत जोगाउन सफल भएका छन् ।

कस्तो अवस्थामा हुन्छ जमानत जफत ?

निर्वाचन सम्बन्धी कानूनअनुसार कुनै पनि उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गरेमा मात्र उसको जमानत रकम फिर्ता हुन्छ । यदि सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएमा उक्त धरौटी रकम राज्यको ढुकुटीमा जफत हुने कानूनी प्रावधान छ ।

३ सय ५० उम्मेदवारको मत शून्य

सूचना अधिकारी घिमिरेका अनुसार जमानत जफत भएका २ हजार ८ सय ९० जना उम्मेदवारमध्ये ३ सय ५० जना उम्मेदवारले एक भोट पनि प्राप्त गर्न सकेनन् । उनीहरूको मत परिणाम शून्य देखिएको छ । यसले कतिपय उम्मेदवारले आफूलाई वा आफ्नो परिवारको मतसमेत हाल्न नसकेको वा नहालेको संकेत गर्छ ।

कसरी फिर्ता हुन्छ रकम ?

जमानत जोगाउन सफल (१० प्रतिशतभन्दा बढी मत ल्याउने) ५ सय १६ जना उम्मेदवारले आफ्नो धरौटी रकम फिर्ता पाउनका लागि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ९० दिनभित्र निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ । विधिवत निवेदन दिएपछि उनीहरूले कानूनबमोजिम आफ्नो रकम फिर्ता पाउने आयोगले जनाएको छ । जमानत जफत भएको रकम भने राज्यको ढुकुटीमा जम्मा हुन्छ ।

कति हुन्छ जमानत ?

प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गराउन १० हजार रुपैयाँ धरौटी आवश्यक पर्ने व्यवस्था निर्वाचन आयोगले गरेको थियो ।

सामान्य उम्मेदवारले १० हजार रुपैयाँ धरौटी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बुझाएका हुन्छन् र धरौटी बुझाएको रसिद वा भौचर पेश गर्नुपर्ने भने महिला, दलित, अल्पसंख्यक समुदायका उम्मेदवार तथा आर्थिक रूपमा विपन्न व्यक्तिले मात्र ५ हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ। आयोगका अनुसार, यस वर्गका उम्मेदवारहरूका लागि धरौटी रकममा ५० प्रतिशत छुट दिइएको छ ।