
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले धनुषा–१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका आफ्ना उम्मेदवारलाई अहिलेसम्म निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै निर्वाचन आयोग को ध्यानाकर्षण गराएको छ ।
सोमबार नेकपाका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै धनुषा–१ बाट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसकेको भए पनि आयोगले हालसम्म प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै आपत्ति जनाएका हुन् ।
‘निर्वाचन आयोग स्वयंले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशनअनुसार हाम्रो उम्मेदवार विजयी भइसकेको छ । त्यसपछि पनि प्रमाणपत्र नदिनु आयोगको प्रक्रिया र विधिविपरीतको कार्य हो र यो गम्भीर चिन्ताको विषय हो,’ विज्ञप्तिमा भनिएको छ ।
साथै आयोगको २०८२ फागुन १८ गते बसेको बैठकले किशोरी साह कमल को उम्मेदवारी निर्वाचन ऐन २०७४ अनुसार खारेज गरिसकेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
पार्टीले संवैधानिक निकायका रूपमा आयोगले विधिको शासन पालना गर्दै कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढंगले काम गर्नुपर्ने बताएको छ। साथै न्यायालयले पनि कानुन र विधिअनुसार सही निर्णय गर्ने विश्वास व्यक्त गरिएको विज्ञप्तिमा उल्लेख छ।
उक्त निर्वाचन क्षेत्रमा नेकपाका मातृका प्रसाद यादवले १० हजार ४३० मत पाउँदा नेकपा एमालेका उम्मेदवारले ९ हजार ३१५ मत पाएका छन् ।
खारेजीमा परेका रास्वपाका उम्मेदवार किशोरी शाह कमलले २१ हजार बढी मत पाएको जनाइएको छ । तर उनको उम्मेदवारी खारेजविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले मतपरिणाम घोषणा नगर्न निर्वाचन आयोगले निर्देशन दिएको थियो ।








प्रतिक्रिया