सम्पूर्ण अपडेट

बालेनले झापा-५ मा चुनाव जितेपछि पत्नी सविनाले भनिन्: फेरि अर्को घर र माइती पाएँ

273
Shares

काठमाडौं । झापा–५ बाट चुनाव जितेका बालेन शाहकी पत्नी सविना काफ्लेले चुनावी विजयपछि झापावासीप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।

उनले बालेनले चुनाव जित्दा आफूले फेरि अर्को घर र माइती पाएको उल्लेख गरेकी छन् ।

‘उम्मेदवारले विजय प्राप्त गर्नु भयो तर मैले फेरि अर्को घर पाएँ, माइती पाएँ जसले मलाई दृढता र आत्मविश्वास सिकाएको छ,’ काफ्लेले सामाजिक सञ्जालमा लेखेकी छन् ।

देशभर चुनावी परिणामसँगै उत्साह छाइरहेको उल्लेख गर्दै उनले झापा–५ का मतदाता, संगठनका साथीहरू र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेकी छन्।

काफ्लेले चुनावी अभियानका क्रममा क्षेत्रका कार्यकर्ताहरूले असहज परिस्थितिका बाबजुद पनि दिनरात नभनी गरेको मेहनत आज देखिएको बताएकी छन्।

उनले संस्थामा औपचारिकता, मेहनत, गणना र मापन हुने भए पनि परिवारमा प्रेम, प्रार्थना, आस्था र आशीर्वाद हुने उल्लेख गर्दै झापा पुगेको बेला त्यहाँका बासिन्दाले आफूलाई छोरी र चेलीको रूपमा अपनत्व दिएको अनुभव सुनाएकी छन्।

झापावासीले दिएको स्वागत, सम्मान र भरोसाले आफूलाई अझ सबल, सशक्त र जिम्मेवार बनाएको उनले बताएकी छन् । ‘यहाँहरूले दिएको अपनत्व र भरोसाले अब हिँड्ने हरेक पाइला अझ अर्थपूर्ण बन्नेछ,’ उनले लेखेकी छन्, ‘हिजो पनि म यहीँ थिएँ, आज पनि म यहीँ छु र भोलि पनि म यहीँ भेटिनेछु।’

बालेन पत्नी सविनाको भनाइ

सर्वप्रथम त हामी सबैलाई धेरै धेरै बधाई !

देश भरी नै यति धेरै उल्लास छाइरहँदा झापा ५ प्रति विशेष कृतज्ञता र नमन छ । धन्यवादका पात्रहरू धेरै छन् । एक एकलाई समेट्न गाह्रो छ । तर यो लेखिरहँदा हरेक अनुहारहरू मेरो मानसपटलमा मुस्कुराइरहेका छन् । यस क्षेत्रको संगठनका जोशिला साथीहरूलाई धेरै धेरै धन्यवाद । कति असहजताका बाबजुद पनि दिन रात नभनी तपाईँहरूले मेहनत गर्नुभयो । तपाईँहरूको मेहनत आज संसारले देखिरहेको छ । प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिनु भएका सबै साथीहरूलाई धन्यवाद ।
तर यसैबीच भन्नु पर्ने कुरा ; संस्थामा औपचारिकता हुन्छ, मेहनत हुन्छ, गन्ती हुन्छ, मापन हुन्छ । तर परिवारमा प्रेम हुन्छ, प्रार्थना हुन्छ, आस्था हुन्छ, आशीर्वाद हुन्छ । म एउटा सचेत नागरिक हुँ भन्दै झापा छिरिरहँदा यो ठाउँले मलाई छोरी मान्यो, चेली मान्यो । यी सबै स्वागत, सम्मान र स्पर्शमा मैले माया देखेँ । आफ्नो उम्मेदवार प्रतिको विश्वास र आस्था देखेँ । उम्मेदवारले विजय प्राप्त गर्नु भयो तर मैले फेरि अर्को घर पाएँ, माइती पाएँ जसले मलाई दृढता र आत्मविश्वास सिकाएको छ । मेरो व्यक्तित्वमा नयाँ आयामहरू थपिएका छन् जसले मलाई अझै सबल, सशक्त र जिम्मेवार बनाएको छ । यहाँहरूले दिएको अपनत्व र भरोसाले अब हिँड्ने हरेक पाइला अझ अर्थपूर्ण बन्ने छ ! हिजो पनि म यहीँ थिएँ, आज पनि म यहीँ छु, र भोलि पनि म यहीँ भेटिनेछु।
हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद ।