सम्पूर्ण अपडेट

नेपालको संसदीय इतिहासमा बालेन र लेखजंगले राखे नयाँ कीर्तिमान

1.8k
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको इतिहासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सबैभन्दा बढी मत ल्याउने उम्मेदवार बनेका छन् ।

रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको बालेन शाहले झापा ५ बाट ६८ हजार ३४८ भोट ल्याएका हुन् । यो नयाँ रेकर्ड हो । नेपालको संसदीय इतिहासकै सबैभन्दा धेरै मत प्राप्त गरी निर्वाचित भएर बालेनले कीर्तिमान रच्दा डा. लेखजंग थापाले सबैभन्दा फराकिलो मतान्तरको रेकर्ड बनाएका छन् ।

प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका रास्वपाका वरिष्ठ नेता बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गरे । शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओली १८ हजार ७३४ मतमा सीमित भए ।

शाहले प्राप्त गरेको यो मत नेपालको संसदीय निर्वाचन इतिहासकै सबैभन्दा उच्च हो । यसअघि २०७४ को निर्वाचनमा ओलीले ५७ हजार १३९ मत ल्याएर रेकर्ड बनाएका थिए ।

ओलीको रेकर्ड २०८२ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोविता गौतम र डा. थापाले तोडिसकेका थिए ।
तर, अन्तिम मतपरिणाम सार्जनिक हुँदा बालेनको भोट गौतम र थापाको भन्दा पनि बढी आएको हो ।

२०८० को उपनिर्वाचनमा रवि लामिछानेले ५४ हजार १७६ मत ल्याएका थिए ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट रास्वपाका उम्मेदवार डा. लेखजंग थापाले हालसम्मकै धेरै मतान्तरले विजयी भएर नयाँ इतिहास रचेका छन् । थापाले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ४५९ मतान्तरले पराजित गरे ।

अन्तिम मतपरिणाम अनुसार डा. थापाले ५८ हजार ८९४ मत प्राप्त गर्दा कांग्रेसका गुरुङले मात्र ८ हजार ४३५ मत पाए । यसअघि मतान्तरको रेकर्ड रवि लामिछानेको नाममा थियो । रविले २०८० को उपनिर्वाचनमा ४२ हजार ९६२ को मतान्तरले जितेका थिए ।

यस निर्वाचनमा रास्वपाका उम्मेदवारहरूले देशका विभिन्न क्षेत्रमा स्थापित नेताहरूलाई ठूलो मतान्तरले पराजित गरेका छन् ।

रुपन्देही–१ मा रास्वपाका सुनिल लम्सालले ५७ हजार ३९ मत ल्याएर नेपाली कांग्रेसका हिराबहादुर खत्रीलाई स्तब्ध पारे । खत्रीले १२ हजार ७४७ मतमात्र ल्याए ।

रुपन्देही–२ मा रास्वपाका सुलभ खरेलले ५६ हजार ५५० मत ल्याएर एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई हराए । पौडेल मात्र १२ हजार ८६१ मतमा खुम्चिए ।

मोरङ–६ मा रास्वपाकी रूविना आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरी कांग्रेसका नेता डा. शेखर कोइरालालाई ४२ हजारभन्दा बढी मतान्तरले पराजित गरिन् । कोइरालाले १२ हजार ८५० मत मात्र पाए।

चितवन २ मा रवि लामिछानेले ५४ हजार ४०२ मत ल्याउँदा कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत ल्याइन् । लामिछानेले ४० हजार मतान्तरले जिते ।

काभ्रे २ मा बदन लामिछानेले करिब साढे ३५ हजार मतान्तरले जिते । बदनले ५३ हजार ३४४ मत ल्याए ।

सर्लाहीमा नितिमा भण्डारीले ४४ हजार १८१ मत ल्याउँदा कांग्रेसका शम्भु श्रेष्ठले ७ हजार ८७१ मत ल्याए ।

धनुषा–३ मा रास्वपाका मनिष झाले ४३ हजार ९८८ मत ल्याएर कांग्रेस नेता विमलेन्द्र निधिलाई पराजित गरे । निधि १६ हजार ६५२ मतमा रोकिए ।

यो निर्वाचनमा रास्वपाका १९ उम्मेदवारले ४० हजारभन्दा बढी भोट ल्याए ।