सम्पूर्ण अपडेट

३५ वर्षीय बालेनसँग ‘शक्तिशाली पूर्वप्रधानमन्त्री’ ओलीको इतिहासकै नमिठो हार

294
Shares

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो राजनीतिक इतिहासकै एकदमै नमिठो हार भोग्न बाध्य भएका छन् ।

अन्तिम परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता ३५ वर्षीय युवा उम्मेदवार बालेन्द्र शाह ६८ हजार ३४८ मत पाउँदै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी पूर्वप्रधानमन्त्री ओलीले मात्र १८ हजार ७३४ मत पाएका छन् । करिब ५० हजार मतान्तरले यो हार ऐतिहासिक बनेको छ ।

ओलीले गृह जिल्ला झापा क्षेत्रमा लामो समयदेखि प्रतिस्पर्धा गर्दै आएका छन् । २०४८ सालमा झापा–६ बाट प्रतिनिधिसभामा २३ हजार ३२४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले २०,१२२ मत पाएका थिए । त्यसपछि २०५१ र २०५६ सालमा पनि ओली विजयी बनेका थिए, क्रमशः २४,०९८ मत र २९,६८५ मत पाएर निकटतम प्रतिस्पर्धीलाई १ हजार २४४ र २ हजार २५४ मतले पछि पारेका थिए ।

तर २०६४ सालमा संविधानसभाको निर्वाचनमा उनी पहिलोपटक झापा क्षेत्रमा पराजित भए। त्यतिबेला माओवादी उम्मेदवार बिश्वदीप लिङ्देनले १६ हजार ९९ मत ल्याउँदा ओलीले १४ हजार ९५९ मत मात्र पाए र पराजित भए ।

२०७४ र २०७९ सालमा ओली झापा–५ बाट प्रतिनिधिसभामा विजयी बने । २०७४ मा उनले नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई १६ हजार ६९३ मतान्तरले पराजित गरे भने २०७९ मा उनै अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पछि पार्दै पुनः विजयी भएका थिए।

तर २०८२ को निर्वाचनमा ३५ वर्षीय बालेन्द्र शाहसँग उनी करिब ५० हजार मतान्तरले पराजित भए ।

चार पटक प्रधानमन्त्री भइसकेका ओलीलाई गृहजिल्लामै काठमाडौंमा जन्मिएका मधेशी मूलका बालेन्द्र शाहले नमिठो हार चखाएका छन् । आगामी प्रधानमन्त्रीको घोषणासहित रास्वपाबाट बालेन र एमालेबाट ओली चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

शक्तिशाली नेताको पराजय

नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री ओली नेपाली राजनीतिका शक्तिशाली नेता मध्येका एक हुन् । एमाले र माओवादीको एकीकरणपछि उनले नेतृत्व गरेको सरकारले झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको थियो । त्यतिबेला उनी प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा थिए । तर पार्टीभित्रको विवाद, अदालतको फैसलापछि एमाले–माओवादी छुट्टाछुटै पार्टी बनेका थिए ।

चुच्चे नक्सा जारी गर्ने र भारतले नाकाबन्दी गर्दा चर्को आलोचना गरेका ओलीको राष्ट्रवादी छवीले यसपटक काम गरेन । त्यसोत ओलीले आफू प्रधानमन्त्री भएका बेला झापामा बजेट धेरै खन्याएका थिए तर पनि उनलाई युवामाझ लोकप्रिय रहेका बालेनले नराम्रोसँग चुनावी मैदानमा पछारेका छन् ।

यसपटक बालेन्द्र शाहले स्थानीय मतदाताको भरोसा र युवा नेतृत्वको शक्ति प्रदर्शन गर्दै, पूर्वप्रधानमन्त्रीसँग प्रत्यक्ष प्रतिस्पर्धामा ऐतिहासिक मतान्तरले विजयी भएका छन्। यो हार ओलीको राजनीतिक करियरमा सबैभन्दा गहिरो प्रभाव पार्ने हारको रूपमा अंकित भएको छ ।