त्रिभुवन विमानस्थलको उडान अवस्था : आन्तरिक ठप्प, अन्तर्राष्ट्रियतर्फको चाप न्यून

133
Shares

काठमाडौं । निर्वाचनको दिन आज विहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानमा आन्तरिक ठप्प छ । आन्तरिक वायुसेवा कम्पनीहरुले सवारी असहजताका कारण उडान नगरेका कारण आज नियमित उडान गर्ने फिक्स्ड विंङ्सका कुनै पनि वायुसेवा उडेका छैनन् ।

त्रिभुवन विमानस्लबाट हुने करीब २५० वटासम्मको आन्तरिक उडान आजको लागि ठप्प छ । निर्वाचन आयोगले आन्तरिक उडान सञ्चालन गर्न सहमति दिएको भएपनि यात्रुलाई हुने व्यवाहारिक समस्याका कारण उडान भएको छैन् ।

निर्वाचन आयोगको अनुमति लिएर उडेका सिमित हेलिकप्टर बाहेक आन्तरिकतर्फ कुनै पनि उडान नहुँदा विमानस्थल सुनसान रहेको छ । अन्तर्राष्ट्रिय तर्फ भने दैनिक ७०/८० वटा उडान हुने गरेको भएपनि मध्यपूर्वको तनावका कारण दैनिक ३० वटासम्म उडान विगत ६ दिनदेखि रद्द भइरहेको छ ।

विहीबारका लागि पनि मध्यपूर्वमा उडान सहज नहुँदा सो बाहेकका अन्य विदेशी वायुसेवाको मात्रै उडानले गर्दा अन्तर्राष्ट्रिय तर्फ भने चाप न्यून छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विहीबारको लागि अन्तर्राष्ट्रिय तर्फ एयर इन्डिया, ड्रुक एयर, चाइना साउदर्थ, सिचुवान एयरलाइन्स, इन्डिगो एयर, टर्किस एयरलाइन्स, श्रीलंकन एइरलाइन्स, एयर इन्डिया एक्सप्रेस र थाई एइरवेजले उडान गरेका छन् । इन्डिगो, एइर इन्डिया, थाई, विमान वंगलादेश र बाटिक एयरको उडानको लागि चेकिङ भइरहेको छ ।

त्रिभुवन विमानस्थलबाट हुने जजीरा, कुवेत, एयर अरेविया, फ्लाई दुबाई, नेपाल एयरलाइन्स, कतार र हिमालय एयरलाइन्सको मध्यपूर्वी क्षेत्रमा हुने उडान भने भएको छैन ।

यी क्षेत्रमा बुधबार पनि विभिन्न सात वायुसेवाका १६ वटा उडान र १५ वटा हुनुपर्ने अवतरण हुने गरी कुल ३१ वटा उडान रद्द भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । यी क्षेत्रमा विहीबार पनि उडान भएका छैनन् ।