अहिलेको निर्वाचन प्रणालीका कारण कसैको बहुमत आउँदैन: सुरेन्द्र पाण्डे

504
Shares

चितवन । नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिलेको निर्वाचन प्रणालीका कारण कुनै पनि दलको स्पष्ट बहुमत आउने सम्भावना नरहेको बताएका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका–५ बाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनपछि पनि देशले तत्काल स्थिरता पाउनेमा शंका व्यक्त गरे ।

पाण्डेले यो निर्वाचनलाई देशको नयाँ राष्ट्रिय राजनीतिको लेखाजोखा गर्ने कडीको रूपमा टिप्पणी गरे । उनले ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सिट रहने व्यवस्थामा कुनै पनि दलले बहुमत ल्याउनु ‘फलामको चिउरा चपाउनु’ सरह भएको बताए । छिमेकी देश बङ्गलादेशको उदाहरण दिँदै उनले नेपालमा संविधानका मुख्य एजेन्डालाई छाडेर दलहरू सरकार बनाउने र प्रधानमन्त्री तोक्ने होडमा मात्र लागेकोमा असन्तुष्टि जनाए ।

उनले भने, ‘अहिलेको डिजिटल युगमा सूचना र मानिसका भावनालाई ध्यान दिनु राजनीतिक दलका लागि ठूलो चुनौती बनेको छ । देशमा अस्थिरता र द्वन्द्व नहोस् भन्ने मेरो चाहना छ, तर अहिलेको निर्वाचन प्रणालीले गर्दा एकल बहुमत आउन कठिन देख्छु ।’

पाण्डेले २०७४ सालको चुनावमा एमाले र माओवादी मिल्दा मात्र धेरै सिट आएको प्रसंग निकाल्दै सधैँ त्यस्तो नतिजा नआउने दाबी गरे । साथै, अन्तरिम सरकारले चुनाव गराउन सक्दैन भन्ने आशंकाका बीच सुशीला कार्की नेतृत्वको सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा उनले धन्यवाद समेत दिए ।