यतिकेम डिस्ट्रिब्युटर्सले एकै वर्ष गर्यो २ अर्ब रुपैयाँको कारोबार

175
Shares

काठमाडौं । यतिकेम डिस्ट्रिब्युटर्सले एकै वर्ष २ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ९७ करोड २० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२४ मा १ अर्ब ८० करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ७७ करोड ६० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ७३ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ६० करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले गत आवमा ९ प्रतिशत र सन् २०२४ मा २ प्रतिशतले व्यापार बढेको छ । त्यसैगरी, कम्पनीले चालु आवको ६ महिनाको अवधिमा एक अर्ब रुपैयाँको व्यापार गरिसकेको छ । गत आवको सोही अवधिमा ८२ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् २००१ मा स्थापना भएको कम्पनीले औषधि बिक्री वितरण गर्दै आएको छ । कम्पनीले डाइबेटिज, क्यान्सर र ट्युबरक्लोसिस र अन्य औषधि बिक्री वितरण गर्दै आएको छ । कम्पनीले उत्पादनसँगै आयातित औषधिको कारोबार गर्दै आएको छ ।

प्रभुराज वैद्य र पृथ्वीराज वैद्यको ५०/५० प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९५ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १८ करोड १० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७७ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको हो ।