यतिका अध्यक्ष लाक्पा सोनाम शेर्पाले लैनचौरमा पाँच तारे होटल बनाउँदै, कति छ लागत ?

0
Shares

सांकेतिक तस्बिर

काठमाडौं । यति एयरलाइन्सका अध्यक्ष लाक्पा सोनाम शेर्पाले काठमाडौंको लैनचौरमा पाँच तारे होटल बनाउने भएका छन् ।

शेर्पाले ‘ले शेर्पा’ होटल प्रालिमार्फत् होटल निर्माण गर्ने भएका हुन् ।

कम्पनीले लैनचौरमा १ सय १० कोठाको सुविधासहित पाँच तारे होटल निर्माण गर्न लागेका छन्।

कम्पनीले होटलमा रेष्टुरेन्ट, स्विमिङ पुल, कन्फरेन्स र क्याङ्वेट हल, स्पा, क्यासिनो र अन्य सुविधा हुने उल्लेख गरेको छ । कम्पनीले होटल निर्माण गर्न २ अर्ब ६० करोड ३० लाख रुपैयाँ लागत अनुमान गरेको छ ।

कम्पनीले होटल निर्माणका लागि १ अर्ब ७५ करोड रुपैयाँ कर्जा लिई लगानी गर्ने भएको छ भने बाँकी इक्विटी (स्वपुँजी) मार्फत् लगानी गर्ने भएको छ ।

कम्पनीअनुसार हालसम्ममा ६२ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । बाँकी रकमको व्यवस्थापन कार्य आगडि बढेको छ । सन् २०१४ मा दर्ता भएको कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

शेर्पा हस्पिटालिटी ग्रुपले निर्माण गर्न लागेको कम्पनीको सम्पूर्ण व्यवस्थापन लाक्पा सोनाम शेर्पाले गर्नेछन् । ग्रुपको देशभर ३० वटाभन्दा बढी होटल सञ्चालनमा छन् । उनी थामसेर्कु ट्रेकिङ प्रालिको प्रबन्ध निर्देशक र पासाङ ल्हामु माउन्टेनियरिङ फाउन्डेसनको पहिलो उपाध्यक्ष पनि हुन् । उनी मुस्ताङ माउन्टेन होम र गोकर्ण रिसोर्ट प्रालिको लगानीकर्ता हुन् ।