६ दिनको लागि १ खर्ब रुपैयाँ तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

49
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत एकैदिन १ खर्ब रुपैयाँ तरलता प्रशोचन गर्न लागेको हो ।

तरलता प्रशोचनका लागि केन्द्रीय बैंकले बैंकहरूसँग प्रस्ताव माग गरेको छ । ६ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रणालीबाट तरलता प्रशोचन गर्न प्रस्ताव आह्वान गरिएको हो । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाटै तय हुने राष्ट्र बैंकले जनाएको छ ।

बैंकहरूले न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्मको प्रस्ताव पेश गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकहरूले राष्ट्र बैंक बाहेक अन्य बैंकहरूमा यसलाई धितोका रूपमा प्रयोग गर्न सक्नेछन् ।

पछिल्ला ३ आर्थिक वर्षदेखि बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले नियमित रूपमा तरलता प्रशोचन गर्दै आएको छ । चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले उक्त अवधिका लागि नेपाल राष्ट्र बैंक ऋणपत्र पनि जारी गरेको छ । सो उपकरणमार्फत २ खर्ब रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा अन्तरबैंक ब्याजदरलाई नीतिगत दरको नजिक राख्ने जनाएको थियो । तर, तरलता व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न नसक्दा अन्तरबैंक ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमामा रहेको निक्षेप संकलन दरकै हाराहारीमा रहेको छ ।

निक्षेपको तुलनामा कर्जा विस्तार न्यून हुँदा तरलताको चाप बढ्दै गएको छ । जसका कारण निक्षेपको ब्याजदर निरन्तर घट्दै अहिलेसम्मकै न्यून बिन्दुतर्फ झरेको छ । राष्ट्र बैंकको फागुन १४ गतेको तथ्यांकअनुसार अधिक तरलता रहे पनि बैंकिङ प्रणालीबाट प्रशोचन गरिएको कुल तरलता ८ खर्ब ८४ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।