झापा ३: गठबन्धनविहीन लिङ्देनले गर्लान ह्याट्रिक ?

105
Shares

विराटनगर । झापा ३ मा बिहीबार राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको राजनीतिक परीक्षण हुँदै छ ।

अघिल्ला दुई निर्वाचनमा एमालेसँगको चुनावी गठबन्धनमा लगातार विजयी भएका लिङ्देन यसपटक गठबन्धनविहीन अवस्थामा ह्याट्रिकको रणनीतिमा छन् । उता १२ वर्षपछि एमालेका मतदाताले आफ्नै चुनाव चिन्हमा मतदान गर्दै छन् । त्यसैले यसपटक झापा ३ मा लिङ्देनको राजनीतिक संरचनाको परीक्षा हुँदै छ ।

२०७४ र २०७९ को निर्वाचनमा एमालेसँगको सहकार्यमा लिङ्देनले सहज जित निकालेका थिए । त्यो जितले कांग्रेसमा चतुर राजनीतिज्ञ मानिने कृष्णप्रसाद सिटौलालाई संसद छिर्नबाट रोक लगाएको थियो र उनी राष्ट्रिय सभा ताक्न बाध्य भएका थिए । यसपटक उनी चुनावी मैदानबाट रिङआउट छन् ।

अघिल्लो निर्वाचनमा लिङ्देनले ४० हजार ६६२ मत ल्याउँदा माओवादीसँगको गठबन्धनमा रहेका सिटौलाले ३७ हजार ३८६ मत ल्याएका थिए ।

गत निर्वाचनको समानुपातिक मतलाई हेर्ने हो भने यो क्षेत्रमा कांग्रेसको संगठन बलियो देखिन्छ । त्यसबेला कांग्रेसले २५ हजार ५३५ समानुपातिक मत ल्याउँदा राप्रपाले १९ हजार ७४३ र एमालेले १९ हजार ४६० मत पाएको थियो । त्यसैगरी प्रत्यक्षमा तेस्रो रहेको रास्वपाले समानुपातिकमा ७ हजार ८१२ मत पाएको थियो ।

यसपटक यो क्षेत्रमा कांग्रेसबाट राजेन्द्रकुमार घिमिरे, एमालेबाट हरिबहादुर राजवंशी, नेकपाबाट डिल्लीराम घिमिरे, रास्वपाबाट प्रकाश पाठकसहित १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । अघिल्लो चुनावमा लिङ्देनले ४० हजार ६६२ मत पाउँदा सिटौलाले ३७ हजार ३८६ मत पाएका थिए ।

भद्रपुर नगरपालिका, कचनकवल, हल्दिवारी, बाह्रदशी गाउँपालिका र बिर्तामोड नगरका केही वडा समेटिएको झापा ३ मा १ लाख ४० हजार ८५७ मतदाता छन् ।