व्यावसायिक घरानाहरूको चरित्रहत्या गरी ब्ल्याकमेलिङ गर्ने प्रवृत्ति रोक्न जरुरी

0
Shares

नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्र पछिल्लो समय विभिन्न बाह्य र आन्तरिक चुनौतीहरूसँग जुधिरहेको छ । विशेषगरी भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा देखिएका उच्छृंखल गतिविधिले निजी क्षेत्रको आत्मविश्वासमा ठूलो धक्का पुर्याएको छ । दशकौंदेखि बैंकिङ क्षेत्रमा क्रियाशील रहँदा मैले धेरै आरोह–अवरोह देखेको छु ।

तर, पछिल्लो समय सिर्जित ‘अनिश्चितता’ यसअघि महसुस भएको थिएन । यसले लगानीको वातावरणलाई अत्यधिक कमजोर बनाएको महसुस हामीले गरिरहेका छौं ।

जेनजी प्रदर्शनका क्रममा भएको भौतिक क्षतिभन्दा ठूलो ‘विश्वासको संकट’ हो । जेनजी प्रदर्शनका क्रममा निजी आवास र व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी तथा तोडफोड भयो । व्यक्तिगत रूपमा घर र गाडीमा क्षति पुग्नुका साथै व्यावसायिक रूपमा लुटपाट र तोडफोडका घटनाहरू भए ।

मैले नेतृत्व गरेको संस्थामा आर्थिक हिसाबले क्षति १ करोड रुपैयाँ भन्दा कम देखिए पनि यसले छोडेको मनोवैज्ञानिक असर भने ठूलो छ । राज्यको संयन्त्र निरीह बनेर निजी सम्पत्तिमा आगो लागेको टुलुटुलु हेरेर बस्दा व्यवसायीको आत्मबल कमजोर मात्रै नभई पूर्ण रूपमा टुट्छ ।

भोलिका दिनमा भौतिक सम्पत्ति त फेरि आर्जन होला । राज्यसँग स्रोत र साधन भए पुनः निर्माण गर्न सकिन्छ । तर, टुटेको राज्यमाथिको भरोसा र सुरक्षाको अनुभूति फर्कन समय लाग्छ ।

बैंकिङ क्षेत्र अर्थतन्त्रको ऐना हो । बजारमा त्रास फैलेपछि त्यसको प्रत्यक्ष असर बैंकको वासलातमा देखिन्छ । आन्दोलनपछि कर्जा असुलीको प्रक्रिया थप प्रभावित भएको छ भने नयाँ कर्जाको माग ह्वात्तै घटेको छ । प्रदर्शनकारीहरूले बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गर्दा व्यावसायिक कारोबारमा कमी आएको छ जसले अन्ततः बैंकहरूको नाफा र समग्र अर्थतन्त्रको तरलता चक्रलाई नै अवरुद्ध पारेको छ ।

अहिले हामी ‘पोस्ट जेनजी स्ट्रेस’ (जेन जी प्रदर्शनपछिको तनाव) बाट गुज्रिरहेका छौं । यो डर, असुरक्षा र अनिश्चितताको यस्तो अवस्था हो जसले लगानीकर्तालाई पनि नयाँ लगानी गर्नबाट रोकेको छ । त्यसैले अहिले धेरैजसो ठूला लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा छन् । बैंकहरूले पनि लगानी गर्नको लागि पर्ख र हेरको अवस्था नै रहेको पाउन सकिन्छ । लगानी गर्नु भन्दा नगर्नु नै सुरक्षित भन्ने अवस्था छ ।  

जेनजी प्रदर्शनपछिको संकटको समयमा अर्थ मन्त्रालय र अर्थमन्त्रीको तत्परता भने सराहनीय देखिएको छ । निजी क्षेत्रका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने प्रयासहरू भइरहेका छन् । त्यस्तै, नेपाल राष्ट्र बैंकले पनि राहत र सहजीकरणका लागि इमानदार प्रयास गरिरहेको छ । त्यसले अवस्था खराब हुनबाट जोगाएको छ ।  तर, लगानीकर्ताले अझै पनि भरोसा गरिहालेको अवस्था भने देखिदैन । अब यो आत्मविश्वास जगाउन आवश्यक छ ।  

राष्ट्र बैंक र अर्थ मन्त्रालय बाहेकका सरकारका अन्य अंगहरूमा भने निजी क्षेत्रको पीडाप्रति कुनै संवेदनशीलता देखिएका छैनन् । कतिपय मन्त्रालयहरूले त अर्थव्यवस्थामा पर्ने असरको मूल्यांकन नै नगरी निर्माण व्यवसायीहरूलाई कारबाही गर्ने जस्ता ‘सस्तो लोकप्रियता’ मा मात्रै ध्यान दिएका छन् । सरकारको एउटा हातले राहत दिने र अर्को हातले थिच्ने प्रवृत्तिले लगानीको वातावरण बन्न सक्दैन ।

अहिलेको खस्किएको मनोबल उकास्न र लगानीमैत्री वातावरण बनाउन सरकारले केही प्रयासहरू गर्न आवश्यक छ । तत्काल लागि सरकारले निम्न कदम चाल्नुपर्छः

१. आर्थिक तरलता प्रवाहः सरकारले ट्रेजरी बिल वा विकास ऋणपत्रमार्फत करिब ४ खर्ब रुपैयाँ ऋण उठाएर बजारमा भुक्तानी दिन बाँकी रहेका सम्पूर्ण बक्यौताहरू चुक्ता गर्नुपर्छ । यसले बजारमा पुँजी प्रवाह बढाएर अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्याउँछ । 

२. विकास खर्च र पूर्वाधारः पर्यटन प्रवर्धनका लागि सडक पूर्वाधारमा विशेष जोड दिँदै विकास खर्च बढाउनुपर्छ ।

३. दण्ड र सजायः दंगा, आगजनी र तोडफोडमा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गरिनुपर्छ  । त्यसो गर्दा भविष्यमा दण्ड र सजायको भयले पनि कसैले निजी क्षेत्रमाथि आक्रमण गर्ने हिम्मत गर्न सक्दैन । यसले लगानीकर्तामा विश्वास जगाउँछ । लगानी गर्ने वातावरण बनाउँछ ।

४. भ्रामक प्रचारको अन्त्यः तथ्यहीन रूपमा व्यावसायिक घरानाहरूको चरित्रहत्या गर्ने र ब्ल्याकमेलिङ गर्ने प्रवृत्तिलाई रोक्न कडा कानुनी प्रावधान ल्याउनुपर्छ । केही सञ्चारमाध्यम र व्यक्तिहरूले निजी क्षेत्रलाई ‘शत्रु’ का रूपमा चित्रण गर्ने कार्य रोकिनुपर्छ ।

नेपालमा लगानीमैत्री वातावरण बनाउन सरकार, नियामक निकाय, निजी क्षेत्र र सर्वसाधारण सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण छ । निजी क्षेत्रले राज्यलाई तिरेको राजस्व, सिर्जना गरेको रोजगारी र पुर्याएको सेवालाई जनताले सम्मान गर्ने संस्कारको विकास हुनुपर्छ । निजी क्षेत्र स्वयम् पनि अल्पकालीन लाभ र राजनीतिक साँठगाँठबाट टाढा रहेर व्यावसायिक निष्ठामा अडिग रहनुपर्छ ।

आजको दिनमा देशको अस्थिर राजनीतिक प्रणाली नै सबै समस्याको जड हो । धेरै दल र खण्डित जनादेशले अस्थिरता निम्त्याएको छ । राजनीतिक स्थिरता नभएसम्म निजी क्षेत्र सुरक्षित हुन सक्दैन । अब ढिलो नगरी सरकारले निजी क्षेत्रको सुरक्षाको ग्यारेन्टी गर्दै उनीहरूको आत्मविश्वास पुनःस्थापित गर्ने ठोस नीति र योजना ल्याउनुपर्छ । सबै राजनीतिक दलले सार्वजनिक रूपमा निजी क्षेत्रको सुरक्षाका लागि प्रतिबद्धता जनाउनुपर्छ ।

(प्रस्तुत लेख ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा सोधिएका प्रश्नहरुमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले दिएको जवाफका आधारमा तयार पारिएको हो।)