
काठमाडौं । ज्ञानेन्द्र शाहीले भारी मतान्तरले जितेको जुम्लामा यसपालिको चुनावी भिडन्त कस्तो रहला भन्ने चासोको विषय बनेको छ।
फागुन २१ को चुनाव नजिकिँदै जाँदा जुम्लामा चुनावी गतिविधि गर्माएको छ। यसपालि नयाँदेखि पुराना दलसम्मका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएकाले यो क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ।
यसअघिको चुनावमा यो क्षेत्रमा कुन पार्टीले कति भोट पाएका थिए ? यसबारे चर्चा गरौं।
२०७९ को प्रतिनिधिसभा चुनावमा जुम्लामा राप्रपाका शाही १० हजार ८६० मतान्तरले विजयी भएका थिए। उनले २२ हजार ८१९ मत पाउँदा माओवादी–कांग्रेस गठबन्धनबाट माओवादी उम्मेदवार गोमा गौतमले ११ हजार ५५९ मतसहित दोस्रो स्थान हासिल गरेकी थिइन्।
तर, समानुपातिकतर्फ भने एमाले पहिलो बनेको थियो।
एमालेले १० हजार ५४८ मत पाउँदा दोस्रो बनेको कांग्रेसले १० हजार ४७६ र माओवादी केन्द्रले ८ हजार ९६० मत ल्याएको थियो।
प्रत्यक्षतर्फ जितेको राप्रपाले भने समानुपातिकमा जम्मा ५ हजार ७९६ मत ल्याउँदै चौथो स्थानमा सीमित भएको थियो। रास्वपाले समानुपातिकमा ८९९ मत पाएको थियो।
यसपटक पनि शाही राप्रपाबाट पुनः उम्मेदवार बनेका छन्।
रास्वपाबाट विनिता कठायत उम्मेदवार बनेकी छन् भने कांग्रेसका दीपबहादुर शाही, एमालेका शान्तिलाल महत र नेकपाबाट नरेश भण्डारी प्रतिस्पर्धामा छन्।
यस क्षेत्रमा कुल ७१ हजार ७३९ मतदाता रहेका छन्। जसमध्ये १८ देखि २५ वर्ष उमेर समूहका ८ हजार १२२, २६ देखि ४० वर्ष उमेर समूहका २७ हजार ९६१, ४१ देखि ६० वर्ष उमेर समूहका २३ हजार ५१५ र ६० वर्षभन्दा माथिका १२ हजार ३३ मतदाता रहेका छन्।
राप्रपाका शाहीलाई यसपटक जित जोगाउने चुनौती छ भने एमाले, कांग्रेससहित रास्वपा जितको खोजीमा छन्।








प्रतिक्रिया