प्रकाशमानले लगातार जित्दै आएको काठमाडौं-१ मा कांग्रेसले जोगाउला शाख ?

147
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०६४ यता लगातार ४ पटक चुनाव जितेको क्षेत्र हो ।

पछिल्लो २ वटा निर्वाचनमा राप्रपका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसँग झिनो मतान्तरले जितेका प्रकाशमानले यसपटक कांग्रेसबाट टिकट पाएनन् ।

२०७९ सालको चुनावमा प्रकाशमान सिंहले चुनाव जित्दा राप्रपाका रविन्द्र मिश्र दोस्रो बने ।

काठमाडौंका कतिपय क्षेत्रमा कांग्रेस र रास्वपा प्रमुख प्रतिस्पर्धीका रुपमा देखिँदा काठमाडौं १ मा भने रास्वपा केही पछि देखिएको थियो ।

यसपटक प्रकाशमानले लगातार जित्दै आएको ठाउँमा कांग्रेसले प्रवल थापा क्षेत्रीलाई उठाएको छ भने राप्रपाबाट रविन्द्र मिश्र तेस्रो पटक चुनावी मैदानमा उत्रिँदै पहिलो जितको खोजिमा छन् ।

यस्तै विवेकशील साझा पार्टीलाई रास्वपामा बिलय गराएर रञ्जु दर्शना घण्टी चुनाव चिह्नबाट उम्मेदवार बनेकी छन् ।

एमालेबाट मोहनराज रेग्मी र नेपाली कम्युनिष्ट पार्टीबाट मेनुका भण्डारी चुनावी प्रतिस्पर्धामा छन् ।

यसअघिको चुनावमा कांग्रेसका प्रकाशमानले ७ हजार १४३ मत सहित निर्वाचित हुँदा दोस्रो बनेका राप्रपाका रविन्द्र मिश्रले ७ हजार १८ मत ल्याएका थिए । रास्वपाका पुकार बम ४ हजार ११५ मतसहित तेस्रो भएका थिए ।

२०७९ को निर्वाचनमा काठमाडौं १ मा समानुपातिकतर्फ ६ हजार ९९१ मतसहित कांग्रेस पहिलो बन्दा रास्वपा ५ हजार ६१८ मतसहित दोस्रो र राप्रपा ५ हजार ७२सहित तेस्रो बनेको थियो । यहाँ एमालेले समानुपातिकमा ३ हजार ७९३ मत पाएको थियो ।

काठमाडौं १ मा २०७९ मो निर्वाचनमा सम्मानजनक मत ल्याएको नेपाल प्रहरीका पूर्व एआईजी रमेश खरेलले भने यसपटक नेपाली कांग्रेसका प्रवल थापा क्षेत्रीलाई भोट मागिरहेका छन् ।

यो क्षेत्रमा कांग्रेस, राप्रपा र रास्वपाबीच फागुन २१ को चुनावमा प्रतिस्पर्धा हुने देखिन्छ ।