
काठमाडौं । नेपालको बिमा उद्योगमै पहिलो पटक, सिटिजन लाइफ इन्स्योरेन्सले “सिटिजन लिडर डिस्कोर्स” नामक प्यानल छलफल कार्यक्रम आयोजना गरेको छ । फागुन ६ गते पोखरामा सम्पन्न उक्त कार्यक्रममा करिब ४० मिनेट अवधिको विशेष प्यानल छलफल सत्र सञ्चालन गरिएको थियो । कार्यक्रमको सहजीकरण कम्पनीको तालिम विभाग प्रमुख कुबेर पाठकले गरेका थिए ।
कार्यक्रममा कम्पनीका सिटिजन लिडरहरू ईश्वरी प्रसाद बराल, टुक बहादुर राना, सुरेश बाबु शर्मा, राजु श्रेष्ठ तथा लक्ष्मी लामिछानेले प्यानल सदस्यका रूपमा सहभागिता जनाएका थिए । छलफल सफलता, पेशागत विकास, अभिकर्ता भर्ना तथा बीमालेख निरन्तरता जस्ता महत्वपूर्ण विषयहरूमा केन्द्रित थियो ।
प्यानल छलफलमा टुक बहादुर रानाले पछिल्लो समय बढ्दै गएको व्यतित बिमालेख (निष्क्रिय बिमालेख) लाई सम्पूर्ण अभिकर्ता व्यवसायको साझा चुनौतीका रूपमा प्रस्तुत गर्दै केवल बिक्रीमा होइन, बिमालेख निरन्तरतामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका थिए । उनले तालिमपश्चात् अनुगमन प्रणाली, स्वअध्ययन संस्कार, ग्राहक सेवा कार्यतालिका तथा नवीकरण स्मरण प्रणाली जस्ता व्यावहारिक समाधानहरू सुझाउँदै “बिक्रीभन्दा पनि दीर्घकालीन सम्बन्ध निर्माण नै हाम्रो लक्ष्य हुनुपर्छ” भन्ने धारणा राखेका थिए ।
ईश्वरी प्रसाद बरालले आफ्नो २१ वर्षको अनुभव साझा गर्दै बिमालाई केवल पेशा होइन, यसको मूल्य र सामाजिक जिम्मेवारी बुझ्न समय लाग्ने यथार्थ प्रस्तुत गरेका थिए । ग्रामीण क्षेत्रमा सम्बन्धमा आधारित विश्वास, बढ्दो वित्तीय सचेतना तथा अभिकर्ताको प्रत्यक्ष पहुँचका कारण बिमा व्यवसाय अझ प्रभावकारी हुने उल्लेख गर्दै “जहाँ विश्वास बलियो छ, त्यहाँ बीमा सहज हुन्छ” भन्ने सन्देश दिएका थिए ।
लक्ष्मी लामिछानेले बिमालाई पूर्ण रूपमा विश्वासमा आधारित पेशा भएको उल्लेख गर्दै महिलाहरू यस क्षेत्रमा अत्यन्त सफल हुन सक्ने बताएकी थिइन् । महिलामा रहेको जिम्मेवारीबोध, संवेदनशीलता र परिवारप्रतिको सोचले परिवार केन्द्रित सुरक्षा सन्देश प्रभावकारी रूपमा प्रवाह गर्न सकिने उनको धारणा थियो । उनले “महिलाको संवेदनशीलता र जिम्मेवारीपन नै बीमा व्यवसायको शक्ति हो” भन्ने दृष्टिकोण प्रस्तुत गरेकी थिइन् ।
सुरेश बाबु शर्माले नेपालमा अझै ठूलो जनसंख्या बीमाको दायराबाहिर रहेको तथ्य प्रस्तुत गर्दै बीमाको पहुँच विस्तारमा अभिकर्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका थिए । अभिकर्ता केवल बिक्रीकर्मी नभई वित्तीय शिक्षादाता, जोखिम सल्लाहकार तथा परिवार संरक्षकको भूमिकामा रहनुपर्ने उल्लेख गर्दै “हरेक घरमा बीमा, हरेक परिवारमा सुरक्षा” लाई साझा लक्ष्य बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
त्यसैगरी, राजु श्रेष्ठले बदलिँदो सामाजिक परिवेशमा आजको आवश्यकता अनुसारको अभिकर्ता कस्तो हुनुपर्छ भन्ने विषयमा आफ्नो विचार राखेका थिए । डिजिटल, सचेत र तुलना गर्ने ग्राहकको युगमा अब केवल बीमालेख बेच्ने होइन, पेशागत वित्तीय परामर्शदाताका रूपमा अभिकर्ता रूपान्तरण हुनुपर्ने आवश्यकता उनले औंल्याएका थिए ।
करिब ४० मिनेट अवधिको उक्त सत्र अत्यन्त प्रभावकारी, प्रेरणादायी तथा सहभागीमुखी बनेको थियो । कार्यक्रममा उठाइएका विषयहरूले अभिकर्ता व्यवसायसँग सम्बन्धित पेशागत चुनौती, सुधारका सम्भावित क्षेत्र तथा दीर्घकालीन रणनीतिबारे गहिरो संवादको वातावरण सिर्जना गरेको थियो । कार्यक्रमको सफलतापछि कम्पनीले आगामी दिनहरूमा पनि यस्ता संवादमुखी तथा नेतृत्व विकास केन्द्रित कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सले सधैं नेतृत्व विकास, पारदर्शी संवाद र पेशागत सशक्तीकरणलाई प्राथमिकता दिँदै बिमा क्षेत्रमा नयाँ अभ्यासहरू स्थापना गर्दै आएको छ । “सिटिजन लिडर डिस्कोर्स” त्यसैको एक महत्वपूर्ण र दूरदर्शी कदमका रूपमा लिइएको छ ।








प्रतिक्रिया