महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै हेमराजले के भने ?

84
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै हेमराज ढकालले उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताएका छन् ।

हाल वस्तुगत उपाध्यक्ष रहेका ढकालले आफूले प्रतिकूल परिस्थितिमा समेत उल्लेखनीय काम गर्न सफल भएको दाबी गर्दै उत्पादनमुखी अर्थतन्त्र र व्यवसायीको मनोबल बढाउनु नै आफ्नो पहिलो प्राथमिकता हुने बताए ।

निजी क्षेत्रका समस्या समाधान नै आफ्नो मुख्य दायित्व रहेको बताउँदै उनले आफू निर्वाचित भए सरकारसँग राख्नुपर्ने विषय स्पष्ट रूपमा राख्ने र आवश्यक परे सरकारी निकायका ढोका ढक्ढक्याउने बताए ।

राजधानीमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले अघिल्लो कार्यकालमा नीतिगत स्थिरता कायम गर्न तथा विभिन्न कानून संशोधन गर्न पहल गरिएको बताए ।

कर सुधारका क्षेत्रमा समेत महत्वपूर्ण उपलब्धि हासिल भएको उनको भनाइ थियो । यद्यपि राजनीतिक अस्थिरताका कारण व्यवसायीहरूमा केही त्रासको अवस्था सिर्जना भएको र लगानीमैत्री वातावरण अपेक्षाअनुसार तयार हुन नसकेको उनले स्वीकार गरे ।

ढकालले आगामी दिनमा सरकारी तहमा रोकिएर बसेका कानूनहरू पारित गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै बजारलाई चलायमान बनाउन, थलिएको अर्थतन्त्रलाई सुदृढ गर्न र आर्थिक वृद्धि दर कायम राख्न निजी क्षेत्र सक्रिय रूपमा लाग्ने बताए ।

देशबाट युवाहरूको विदेशिने क्रम रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले उत्पादनमुखी अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने बताए। व्यवसायीका हक–हित संरक्षण, नीतिगत सुधार तथा समस्या सहजीकरण आफ्नो प्राथमिकता रहने उनको भनाइ थियो ।
वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले भने,‘प्रतिकुल अवस्थामा पनि धेरै काम हुन सकिरहेको छ । अब आउने जेन–जी आन्दोलन पछाडी समावेशिताको कुरा आइरहेको छ । आर्थिक एजेण्डा पनि अघि बढिरहेको अवस्थामा हामी पनि निजी क्षेत्रको छाता संगठनको नाताले नेपाल उद्योग वाणिज्य महासंघ त्यत्तिकै सक्रिय भएर सरकारसँग स्पष्ट रुपमा कुरा राख्नेछौँ । अर्थतन्त्र चलायमान नभएको अवस्थामा अर्थतन्त्रमा परेको प्रेसरबाट माथि उठ्न काम गर्नुपर्नेछ । त्यसका लागि महासंघका सदस्यहरुको म्यान्डेटअनुसार अघि बढ्नेछौँ । म लगायत मेरो टिमलाई विश्वास गर्न आग्रह गर्दछु ।’

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका ढकालले निजी क्षेत्र विभाजित नभई एकजुट भएर टिम बनाउनका लागि पनि आफ्नो टिम तयार रहेको स्पष्ट पारे । महासंघको आसन्न निर्वाचनको लागि ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले उम्मेदवारी घोषणा गरिन् । हाल उनी एसोसिएट उपाध्यक्ष नै छिन् । त्यस्तै, ढकालको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया, कल्पना गैरे, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र उपाध्यक्ष प्रस्तावित महिलामा कमला श्रेष्ठलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।