तुल्सा कलेक्सनकी सञ्चालक अधिकारीविरूद्ध पक्राउपुर्जी, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

756
Shares

काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी ‘तुल्सा कलेक्सन’की सञ्चालक तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले २०८२ फागुन ११ गते प्रेस विज्ञप्ति जारी गर्दै अधिकारीविरुद्ध परेको जाहेरी तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको स्पष्ट पारेको हो ।

प्रेस विज्ञप्तिअनुसार कुमार चिमोरियाले नेपाल सरकार प्रतिवादी हुने गरी तुलसा अधिकारीसमेत संलग्न रहेको ठगी तथा आपराधिक लाभ (एक्स्टर्सन) मुद्दामा २०८२ साउन २२ गते जाहेरी दर्ता गराएका थिए । सो जाहेरी दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढिरहेको परिसरले जनाएको छ ।

त्यस्तै, २०८२ कात्तिक २० गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुरबाट पत्राचार भई सोही विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ । विभागमा २०८१ फागुन १९ गते तुलसा अधिकारीको नाममा उजुरी दर्ता भएको र उजुरीसँग संलग्न कागजात तथा विवरणका आधारमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ र ४ बमोजिम कसुर स्थापित हुने आधार–प्रमाण संकलन भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

परिसरले हाल ठगी, आपराधिक लाभ (एक्स्टर्सन) तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाएको छ । साथै अनुसन्धानको दायरामा रहेका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत फोटो, भिडियो तथा भ्रामक सूचना प्रवाह गरी अनुसन्धान प्रभावित पार्ने कार्य नगर्नसमेत आग्रह गरेको छ । कानुनबमोजिम अनुसन्धानमा सहयोग गर्न र आवश्यक परे कार्यालयमा उपस्थित भई आफ्नो भनाइ राख्न सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ ।

यसअघि सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’का सञ्चालक चिमोरियाले अधिकारीले ब्ल्याकमेलिङ गर्दै करिब साढे ४ करोड रुपैयाँ नगद तथा ठूलो परिमाणमा गहना लिएको आरोप लगाएका थिए । पक्राउ पुर्जी जारी भइसकेको र अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरी स्रोतको दाबी छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा अस्वाभाविक आर्थिक कारोबारसमेत फेला परेको प्रहरी स्रोतले जनाएको छ । प्रारम्भिक विवरणअनुसार करिब २० करोड रुपैयाँभन्दा बढीको ट्रान्जेक्सन, एक करोडभन्दा बढी बैंक मौज्दात तथा १६–१७ करोड रुपैयाँ हाराहारीको कुल सम्पत्ति देखिएको दाबी गरिएको छ ।

छानबिन प्रयोजनका लागि कुमारीपाटीस्थित तुल्सा कलेक्सनबाट केही बहुमूल्य सामान बरामद गरिएको र ती हाल प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।

यता, अधिकारीले भने चीनबाटै सामाजिक सञ्जालमार्फत आफूमाथि बदनियतपूर्वक कारबाही गरिएको दाबी गर्दै न्यायको माग गरेकी छन् । आफू नेपालमै हुँदा छलफलका लागि नबोलाइएको र चीन पुगेपछि मात्रै पक्राउ पुर्जीबारे जानकारी पाएको उनको भनाइ छ । अदालतमा मुद्दा दायर भई निष्पक्ष सुनुवाइ भए नेपाल फर्किन तयार रहेको उनले बताएकी छन् ।

प्रहरीले भने सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा प्रभावित पार्ने प्रयास नगर्न र कानुनी प्रक्रियामा सहयोग गर्न पुनः आग्रह गरेको छ ।