
कमलामाई । सिन्धुलीको मरिण गाउँपालिका–४ सहानमा रहेको हिमालयन फुड कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन् ।
घाइते हुनेमा दुई जना नेपाली र पाँच जना चिनियाँ कामदार छन् । जिल्लाकै मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनको दायाँ आँखा र दायाँ खुट्टामा चोट लागेको छ । उदयपुरको कटारी नगरपालिका–१२ बस्ने २२ वर्षीय गोर्कण कटुवालको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।
उनका अनुसार हिमालयन फुड कम्पनीमा कार्यरत चिनियाँ नागरिकहरु ३८ वर्षीय नागरिक मिस्टर याङ, ४५ वर्षीय याङ हाईबो वाया, ४० वर्षीय छ्याङ छोङ, ४६ वर्षीय चुजेन र ३१ वर्षीय लेउसेन्सी घाइते छन् । उनीहरूको कान, टाउको, हात, छाति, मुखमा चोट लागेको र हाल मरिणकै प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।
मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालेको विषयलाई लिएर विवाद सुरु भएको थियो । सिन्धुली प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ ।
चीनमा ‘थर्मल्ली प्रोसेस्ड कुक्ड बफेलो मिट’ (प्रशोधित भैंसीको मासु) निर्यात गर्ने उद्देश्यले सुरु भएको मेगा प्रोजेक्ट हिमालयन फूड इन्टरनेशनल प्राइभेट लिमिटेडले मंसिरदेखि कारखाना निर्माण गर्ने प्रक्रिया सुरु गरेको थियो ।
नेपालको हिमालयन फूड इन्टरनेशनल प्राइभेट लिमिटेडले चीनको सांघाई जियान पव्लिक लिमिटेडको सहायक कम्पनी हेङ्दु जियान फूड लिमिटेडको आर्थिक सहयोगमा अत्याधुनिक पूर्ण स्वचालित प्रोसेस्ड कुक्ड बफेलो मिट फ्याक्ट्री निर्माण गरिँदै छ ।
सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ४ को सहान भन्ने स्थानमा सञ्चालनमा आउने यो कारखाना निर्माण र सञ्चालन गर्न कूल २७ अर्ब ६४ करोड ८४ लाख ६० हजार नेपाली रुपैयाँ लगानी हुनेछ । २० अर्ब रुपैयाँ कारखाना निर्माण र प्लान्ट राख्न खर्च हुनेछ । यस्तै ७ अर्ब रुपैयाँ पशुपालन, पशुपालनको लागि आवास, कामदार बस्ने आवास र घाँस खेतीमा खर्च हुनेछ ।
२७ अर्ब रुपैयाँमध्ये २० अर्ब रुपैयाँ चीनको हेङ्दु जियान फूड लिमिटेडबाट एफडीआईमार्फत भित्र्याउन लागिएको छ । उद्योग विभागले गत साउन ८ गते यो एफडीआई भित्र्याउन स्वीकृति प्रदान गरेको थियो ।

जग्गा व्यवस्थापनका लागि खर्च भएको करिब २ अर्ब रुपैयाँ नेपाली साझेदारी कम्पनी हिमालयन फूड इन्टरनेशनलले लगानी गरेको छ । ६९ बिगाहामध्ये ५४ बिगाहामा प्रशोधन प्लान्टसहित कारखाना, कार्यालय र आवास गृह निर्माण हुनेछ । बाँकी जग्गामा राँगाभैंसी राख्ने होल्डिङ सेन्टर र घाँस उमार्न प्रयोग हुनेछ ।
कारखाना निर्माणपछि मासु सिन्धुलीबाट काठमाडौं हुँदै केरुङ नाकामार्फत चीनमा निर्यात हुनेछ । यो परियोजनामार्फत यो उद्योगबाट ५ हजार १ सय ५६ जनाले रोजगारी पाउनेछन् ।
सम्झौताअनुसार यो कारखाना निर्माण भएपछि दैनिक पाँच हजार गोटा राँगा तथा भैंसी (५ सय मेट्रिक टन) का दरले वार्षिक १ खर्ब ५० अर्ब रुपैयाँबराबरको झण्डै २ लाख मेट्रिक टन प्रोसेस्ड कुक्ड बफेलो मिट निर्यात चीनमा निर्यात हुनेछ ।
पर्याप्त परिमाणमा राँगा भैंसीको उपलब्धता भएपछि दैनिक ९ सय मेट्रिक टन बफेलो मिट निर्यात गर्ने लक्ष्य राखिएको छ । दैनिक ९ सय मेट्रिक टनको दरले वार्षिक २ खर्ब ७० अर्ब रुपैयाँबराबरको यो मिट निर्यात हुनेछ ।








प्रतिक्रिया