
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले सोमबार आफ्नो चुनावी घोषणापत्र (वाचापत्र) सार्वजनिक गरेका छन् ।
‘थिति बसाल्ने संकल्प’ नारासहित सार्वजनिक गरिएको उक्त वाचापत्रमा उनले ९ वटा मुख्य प्रतिबद्धतासहित भूमिहीन र सुकुमबासी समस्या समाधानका ठोस योजनाहरू अघि सारेका छन् ।
बालेनको वाचापत्रमा झापा ५ मा रहेको सुकुमबासी, भूमिहीन तथा अव्यवस्थित बसोबासको समस्यालाई विशेष प्राथमिकता दिइएको छ ।
उनले रास्वपा सरकार गठन भएको १०० दिनभित्र अधिकारसम्पन्न आयोग गठन गर्ने र १००० दिनभित्र यस क्षेत्रको भूमि सम्बन्धी समस्याको न्यायोचित र दिगो समाधान निकाल्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै, बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्न र चक्लाबन्दी प्रवर्द्धनका लागि ‘ल्यान्ड बैंक’को व्यवस्था गर्ने तथा ऐलानी एवं नक्सांकन नभएका जग्गाहरूको नापी नक्सा अभिलेखीकरण कार्य सम्पन्न गर्ने उनको योजना छ ।
मुख्य प्रतिबद्धता
सार्वजनिक वाचापत्रमा बालेनले ९ वटा मुख्य बुँदाहरूलाई आफ्नो कार्ययोजनाको मेरुदण्ड बनाएका छन् । उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र २०८२’ कार्यान्वयनको नेतृत्व गर्ने बताउँदै संविधानले सुनिश्चित गरेका आधारभूत आवश्यकताहरू— गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरणलाई हरेक नागरिकको पहुँचमा पुर्याउन आवश्यक कानुन र बजेटको व्यवस्था गर्ने उल्लेख गरेका छन् ।
उनका अन्य मुख्य प्रतिबद्धताहरू यस्ता छन्:
राष्ट्रहितविपरीतका कुनै पनि सम्झौता नगर्ने ।
सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त र झन्झटरहित बनाउने ।
विकास र प्रकृति संरक्षणलाई सँगसँगै अगाडि बढाउने ।
झापा क्षेत्र नं. ५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गरी स्थानीय सरोकारका विषयलाई सम्बोधन गर्ने ।
राजनीतिलाई पेसा नभई सेवाका रूपमा स्थापित गर्ने ।
जनताको मतलाई काममा रूपान्तरण गर्दै इमानदारिता र परिणाममुखी राजनीति गर्ने ।
आफ्नो चुनावी अभियानका क्रममा बालेनले राजनीतिलाई सेवा, इमानदारिता र परिणाममा आधारित बनाउने संकल्प गर्दै मतदाताहरूको विश्वासलाई काममार्फत प्रमाणित गर्ने बताएका छन् ।










प्रतिक्रिया