‘पेट्रोलियम पदार्थमा इथानोल मिसाउने’ गठन आदेशमा के छ व्यवस्था ?

निगमका कार्यकारी निर्देशक भट्टले के भने ?

70
Shares

काठमाडौं । करिब २० वर्षदेखि चर्चामा रहेको पेट्रोलमा इथानोल समिश्रण गर्ने विषयले हालै मन्त्रिपरिषद्बाट ‘पेट्रोलमा इथानोल मिसावट गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२’ स्वीकृत भएसँगै मूर्तरूप लिन लागेको नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले जानकारी दिए ।

यो निर्णयले देशको इन्धन सुरक्षा, आयात प्रतिस्थापन र विदेशी मुद्रा सञ्चितिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको भट्टको भनाइ छ ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले आयोजना गरेको पेट्रोलमा इथानोल मिसाउने बिषयक कार्यक्रममा सहभागी प्रधानमन्त्री कार्यालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग, निजी क्षेत्रको कियान केमिकल इन्डस्ट्रिज प्राइभेट लिमिटेडका प्रतिनिधीलगायतले करिब २० वर्षदेखि कागज र छलफलमा मात्र सीमित रहेको यो विषयलाई कार्यान्वयनमा ल्याउन ढिलाइ गर्न नहुने उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले पेट्रोलमा इथानोल समिश्रण गर्ने बिषयमा कार्यपत्र प्रस्तुत गरेको थिए ।

डा. भट्टले स्वीकृत गठन आदेशको आधारमा तयार पारिएको कार्यपत्र प्रस्तुत गरेका थिए ।

स्वीकृत आदेश, २०८२ ले पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउन सकिने व्यवस्था गरेको छ । इथानोल उत्पादनका लागि चिनी उद्योगबाट प्राप्त हुने मोलासेस, नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ, पराल, मकैको ढोड, गहुँको छ्वाली, र सिमल तरुल जस्ता कच्चा पदार्थहरूको प्रयोग गर्न भट्टले जानकारी दिए।

यद्यपि, खाद्यान्नको रूपमा प्रयोग हुने अन्नलाई भने इथानोल उत्पादनमा प्रयोग गर्न नपाइने व्यवस्था गठन आदेशले गरेको छ । उत्पादित इथानोल उद्योगले नेपाल आयल निगमलाई मात्र बिक्री वितरण गर्नुपर्नेछ ।

भट्टले सरकारको निर्णय स्वागतयोग्य भएको बताउँदै निगम यो बिषयलाई कार्यान्वयनका लागि तयार रहेको प्रतिवद्धता जनाएका छन् ।

भट्टले भने, ‘आदेश राजपत्रमा प्रकाशित भएपछि हामी तत्काल कार्यविधि बनाएर अघि बढ्छौं । गुणस्तर मापदण्ड निर्धारणका लागि गुणस्तर तथा नापतौल विभागसँग समन्वय भइरहेको छ ।’

मूल्य निर्धारणबारे उनले भने, ‘पेट्रोलको मूल्यभन्दा इथानोलको मूल्य प्रतिस्पर्धी बनाउनु चुनौतीपूर्ण छ, तर सरकारले दिने छुट सुविधा र उत्पादन लागतको विश्लेषण गरेर उपभोक्तालाई भार नपर्ने गरी मूल्य निर्धारण गरिनेछ ।’

उनले इथानोल भण्डारण र मिश्रणका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा रहेको पनि जानकारी दिए ।

इथानोलको खरिद मूल्य निर्धारणका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा एक समिति गठन गरिनेछ । समितिले सिफारिस गरेको मूल्यलाई मन्त्रिपरिषद्ले स्वीकृत गर्नेछ । खरिद प्रक्रियालाई व्यवस्थित गर्न नेपाल आयल निगमले छुट्टै खरिद विनियमावली बनाउनेछ ।

पेट्रोलमा इथानोल मिसाउँदा कार्बन उत्सर्जन कम हुने भएकाले वातावरण स्वच्छ राख्न मद्दत पुग्ने विश्वास गरिएको भट्टले जानकारी दिए ।

यसले इन्जिनको कार्यक्षमता बढाउने र हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउने पनि अपेक्षा छ । साथै, इथानोल स्वदेशमै उत्पादन हुँदा पेट्रोलको आयात घट्न गई व्यापार घाटा न्यूनीकरण र विदेशी मुद्रा सञ्चितिमा सहयोग पुग्नेछ । यसबाट किसानहरूको आयआर्जनमा वृद्धि हुनुका साथै रोजगारीका अवसरहरू पनि सिर्जना हुनेछन् ।

तर, यसका केही चुनौतीहरू पनि छन्। इथानोलको मूल्य पेट्रोलको तुलनामा प्रतिस्पर्धी बनाउनु मुख्य चुनौती हो । हाल नेपालमा इथानोलको उत्पादन न्यून रहेकाले मागअनुसार आपूर्ति गर्नु अर्को चुनौती हुनेछ । यसका लागि लगानीकर्तालाई आकर्षित गरी उत्पादन बढाउनु आवश्यक छ । साथै, इथानोलको प्रयोग र यसका फाइदाहरूबारे जनचेतना फैलाउनु पनि उत्तिकै जरुरी रहेको भट्टले जानकारी दिए ।

भट्टले विगतमा नीतिगत अस्पष्टता र उत्पादनको सुनिश्चितता नहुँदा सम्झौता गर्न नसकिएको बताए । ‘एकातिर उद्योगीहरूले खरिद सम्झौता भएमात्र लगानी गर्ने भन्ने, अर्कोतिर उत्पादन नै नभई सम्झौता गर्न नमिल्ने अवस्था थियो,’ उनले भने, ‘यो ‘कुखुरा पहिले कि अण्डा’ जस्तो द्विविधाले गर्दा ढिलाइ भएको हो ।’

उनले अब कार्यविधि बनेर अघि बढिसकेकाले मूल्य र गुणस्तरमा उपभोक्तालाई मर्का पर्न नदिने प्रतिबद्धता व्यक्त गरे । उनले इथानोलको मूल्य प्रतिस्पर्धी बनाउन सरकारसँग समन्वय भइरहेको र विभिन्न करका दरहरूमा समायोजन गरेर पेट्रोलभन्दा सस्तो बनाउन प्रयास गरिने जानकारी दिए । उनले गाडीको इन्जिनमा पर्ने असर र चिसो मौसममा यसको प्रभावकारिता जस्ता प्राविधिक विषयमा पनि अध्ययन भइसकेको र कुनै समस्या नहुने स्पष्ट पारे ।