
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन मुलुकको सुशासन र संविधानको रक्षाका लागि निर्विकल्प रहेको बताएका छन् ।
गोरखापत्र संस्थानद्वारा आयोजित ‘निर्वाचन समाचार अभिमुखीकरण’ कार्यक्रममा बोल्दै उनले निर्वाचनको मिति तोकिएपछि विभिन्न संशय र हल्ला फैलाइए पनि मतदान प्रक्रिया कुनै पनि हालतमा नरोकिने दृढता व्यक्त गरे ।
निर्वाचनको विकल्प निर्वाचन नै भएको उनको भनाइ छ । केही कुण्ठित तत्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम फैलाउन खोजेको उनको आरोप छ ।
‘निर्वाचनको विकल्प निर्वाचन नै हो ।’ भण्डारीले भने, ‘केही कुण्ठित तत्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम फैलाउन खोजेका छन्, तर नेपाली जनता कसैको कुण्ठा पूर्ति गर्ने साक्षी बस्दैनन् । २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएरै छाड्छ ।’
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन आयोग र सञ्चार जगतलाई एउटै सिक्काका दुई पाटा भएको बताए ।
आयोगले निर्वाचनको व्यवस्थापकीय पाटो हेर्ने भएपनि निर्वाचनको माहोल सिर्जना गर्ने र मतदातालाई सुसूचित गर्ने मुख्य जिम्मेवारी सञ्चारकर्मीको रहेको उनको भनाइ थियो ।
भण्डारीले निर्वाचन आचारसंहिता र विशेषगरी ‘मत सर्वेक्षण’ नगर्न आग्रह गरे ।
मतदान हुनुअघि गरिने मत सर्वेक्षणले मतदाताको मनस्थिति परिवर्तन गराई निर्वाचनको स्वच्छतामा असर पार्ने भएकाले यसलाई वर्जित गरिएको उनले स्पष्ट पारे ।
यस पटकको निर्वाचनमा ९ देखि १० लाख नयाँ मतदाता थपिनुलाई उनले सकारात्मक परिवर्तनको रूपमा लिनुपर्ने बताए ।
‘युवाहरूको यो जोस र उत्साहले नेपालमा सुशासन प्रवाह गर्ने मार्ग प्रशस्त गर्नेछ,’ उनले भने ।
राजनीतिक विद्रोह र प्रतिनिधि सभा विघटनपछिको जटिल परिस्थितिमा हुन लागेको यो निर्वाचनले मुलुकको भड्किएको अनुशासनलाई लयमा ल्याउने भण्डारीले विश्वास व्यक्त गरे ।








प्रतिक्रिया