
काठमाडौं । नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्प दोहोर्याएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको सन्देशसहित सार्वजनिक घोषणापत्रमा आर्थिक विकास, सामाजिक सुरक्षा र पूर्वाधार निर्माणलाई विशेष जोड दिइएको छ।
आर्थिक लक्ष्य: १०० खर्बको अर्थतन्त्र
एमालेले आगामी ५ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० खर्ब र १० वर्षभित्र २०० खर्ब पुर्याउने लक्ष्य राखेको छ । आगामी ५ वर्षमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने र आर्थिक वृद्धिदर ७ देखि ९ प्रतिशत पुर्याउने महत्त्वाकांक्षी योजना घोषणापत्रमा छ।
एमालेले आफ्नो सरकार बनेपछि मन्त्रिपरिषद्को पहिलो बैठकबाटै कार्यान्वयन सुरु गर्ने गरी ११ वटा मुख्य कामहरूको सूची सार्वजनिक गरेको छ:
१. नि:शुल्क इन्टरनेट: १८ देखि २८ वर्षका युवाका लागि मासिक १० जिबी डाटा नि:शुल्क उपलब्ध गराउने।
२. डलर कार्ड: युवा उद्यमीहरूलाई अनलाइन व्यापारका लागि १० हजार डलर बराबरको डलर कार्ड दिने।
३. विप्रेषणमा बोनस: वैदेशिक रोजगारीमा रहेका श्रमिकले बैंकमार्फत पैसा पठाउँदा वार्षिक ५ हजार थप बोनस दिने।
४. विद्यार्थी ऋण: प्राविधिक शिक्षाका लागि २० लाखसम्म निर्ब्याजी ऋण र सशुल्क इन्टर्नसिपको व्यवस्था।
५. शिक्षामा राहत: कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा र सबै किशोरीलाई नि:शुल्क सेनिटरी प्याड।
६. न्यूनतम पारिश्रमिक: श्रमिकको न्यूनतम मासिक पारिश्रमिक २५ हजार पुर्याउने।
७. शिक्षकको सम्मान: शिक्षकहरूको मर्यादाक्रम तोक्ने र सामाजिक सुरक्षामा आबद्ध गर्ने।
८. स्वास्थ्य स्वयंसेविका: स्वास्थ्य स्वयंसेविकाको भत्ता मासिक २० हजार पुर्याउने।
९. महिला उद्यमशीलता: महिला उद्यमीलाई २० लाखसम्म निर्ब्याजी ऋण र ५ लाखको नि:शुल्क जीवन बीमा।
१०. ऋण मिनाहा: विपन्न परिवारले बैंकबाट लिएको २५ हजारसम्मको ऋण मिनाहा गर्ने।
११. सुरक्षाकर्मी कल्याण: सुरक्षाकर्मीहरूको सेवा सुविधा र कल्याणकारी कार्यक्रममा वृद्धि गर्ने।
समृद्धिका २५ स्तम्भ
एमालेले समृद्धिका २५ वटा स्तम्भहरू पहिचान गरेको छ, जसमा ‘स्वदेशमै रोजगारी, स्वदेशमै काम’, ‘आधुनिक खेती, उन्नत व्यवसाय’, ‘स्वच्छ ऊर्जा र हरित विकास’ जस्ता विषयहरू समावेश छन्। ५ वर्षभित्र ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने दाबी पार्टीको छ।
घोषणापत्रमा पुष्पलाल मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी राजमार्गलाई ५ वर्षभित्र पूर्णता दिने उल्लेख छ। साथै, आगामी एक दशकभित्र पूर्व-पश्चिम विद्युतीय रेलमार्ग सम्पन्न गर्ने र काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक) लाई तोकिएको समयमै सक्ने प्रतिबद्धता जनाइएको छ। ‘डिजिटल नेपाल फ्रेमवर्क’ मार्फत ७७ वटै जिल्लामा उच्च गतिको इन्टरनेट पुर्याउने र सरकारी सेवालाई पूर्ण रूपमा पेपरलेस बनाउने लक्ष्य छ।
अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रमार्फत मुलुकमा राजनीतिक स्थायित्वका लागि एमालेको बहुमतको सरकार आवश्यक रहेको बताए । उनले ‘भत्काउने र बनाउने’ शक्तिबीचको द्वन्द्वमा देशलाई प्रयोगशाला बनाउन नहुने भन्दै विकासको संवाहक एमाले भएको दाबी गरेका छन् ।








प्रतिक्रिया