क्युबामा राउल कास्ट्रोका नातिसँग किन गोप्य कुराकानी गर्दैछन् अमेरिकाका विदेशमन्त्री रुबियो ?

70
Shares

एजेन्सी । अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले क्युबाका शक्तिशाली नेता तथा पूर्वराष्ट्रपति राउल कास्ट्रोका नाति राउलितोसँग गोप्य वार्ता गरिरहेको तीनवटा स्रोतहरूले अमेरिकी सञ्चारमाध्यम एक्सियोसलाई बताएका छन् । अमेरिकाले क्युबा सरकारमाथि अभूतपूर्व दबाब दिइरहेको समयमा यो वार्ता भइरहेको हो ।

रुबियो र राउल गुइलेर्मो रोड्रिगेज क्यास्ट्रो (राउलितो) बीचको यस वार्ताले क्युबा सरकारको आधिकारिक माध्यमहरूलाई बाइपास गरिरहेको छ अर्थात् सिधै कुरा गरिरहेको छ । ट्रम्प प्रशासनले ९४ वर्षीय क्रान्तिकारी राउल क्यास्ट्रोलाई नै त्यहाँको वास्तविक निर्णयकर्ताको रूपमा हेरिरहेको यसले देखाउँछ ।

‘म यसलाई वार्ता भन्दा पनि भविष्यका बारेमा गरिएको छलफल भन्न चाहन्छु,’ ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले बताए ।
रुबियो र उनको टोलीले राउलका ४१ वर्षीय नाति र उनको समूहलाई ती युवा र व्यावसायिक सोच भएका क्युबालीहरूको प्रतिनिधिको रूपमा हेर्छन् जसका लागि क्रान्तिकारी साम्यवाद असफल भइसकेको छ र जसले अमेरिकासँगको सम्बन्ध सुधारमा महत्त्व देख्छन् ।

‘कम्युनिस्ट शासन हट्नुपर्छ भन्ने अमेरिकी सरकारको अडान हो,’ ती वरिष्ठ अधिकारीले भने, ‘तर त्यो प्रक्रिया ठ्याक्कै कस्तो हुन्छ भन्ने कुरा राष्ट्रपति ट्रम्पमा निर्भर गर्छ र उनले निर्णय गर्न बाँकी छ । रुबियो अझै पनि ती नातिसँग वार्तामा छन् ।’

राउलितो भनिने युवा क्यास्ट्रोको राजनीतिक वृत्तमा उनको उपनाम एल कांग्रेजो (गंगटो) बाट चिनिन्छन् किनकि उनको एउटा औंला बिग्रेको छ ।

६७ वर्षको अमेरिकी प्रतिबन्ध र क्युबाको कुव्यवस्थापनपछि यो टापु मानवीय संकटका कारण छटपटाइरहँदा त्यहाँको सर्वसत्तावादी सरकार पतनको नजिक पुगेको देखिन्छ ।

त्यहाँ विद्युत् प्रणाली फेल भइरहेको छ । अस्पतालहरूले शल्यक्रिया कटौती गरिरहेका छन् । खाद्य र इन्धनको अभाव बढ्दै गएको छ । पर्यटन व्यवसाय सुक्दै गएको छ । कतिपय सडकका कुनाहरूमा नउठाइएको फोहोरको थुप्रो लागिरहेको छ ।

गत जनवरी ३ मा ट्रम्पले भेनेजुएलाका अभियुक्त समाजवादी शक्तिशाली नेता निकोलस मदुरोलाई नियन्त्रणमा लिन र सुपुर्दगी गर्न आदेश दिएपछि क्युबाका समस्याहरू झन् बढेका हुन् । मदुरोले क्युबालाई मुख्य रूपमा निःशुल्क तेल उपलब्ध गराउँदै आएका थिए ।

जनवरी २९ मा ट्रम्पले क्युबाको अर्को ठूलो तेल आपूर्तिकर्ता मेक्सिकोमाथि पनि प्रतिबन्ध लगाउने धम्की दिए ।

मदुरोको पक्राउ कारबाहीमा अमेरिकी सेनाको सफलता र प्राविधिक श्रेष्ठताले क्युबाको नेतृत्वलाई झस्काइदिएको छ । अमेरिकी अधिकारीहरूका अनुसार, यस कारबाहीमा अमेरिकी सेनालाई कुनै क्षति भएन जबकि मदुरोको सुरक्षामा खटिएका कम्तीमा ३२ क्युबाली गुप्तचर र सैन्य अधिकारीहरू मारिए ।

तर, मदुरोका शासन साझेदारहरूलाई शक्तिमा राखिराख्ने अमेरिकी निर्णयले (विशेषगरी उपराष्ट्रपति डेल्सी रोड्रिगेज जो अहिले कार्यवाहक राष्ट्रपति छिन्) क्युबाका भित्री सूत्रहरूलाई ट्रम्प र रुबियो आफ्ना प्रतिद्वन्द्वीहरूसँग सम्झौता गर्न तयार छन् भन्ने संकेत दियो ।

मदुरोलाई नियन्त्रणमा लिनुअघि रुबियो र ट्रम्प प्रशासनका अन्य अधिकारी तथा सल्लाहकारहरू भेनेजुएलाका सम्भ्रान्त वर्गको सम्पर्कमा थिए जसरी उनीहरू अहिले क्युबामा गरिरहेका छन् भनेर स्रोतहरूले एक्सियोसलाई बताएका छन् ।

‘उनीहरू क्युबामा अर्को डेल्सी खोजिरहेका छन्,’ वार्ताका बारेमा जानकार एक स्रोतले भन्यो ।

ट्रम्पका सल्लाहकारहरूले युवा क्यास्ट्रोबाहेक अन्य प्रभावशाली क्युबालीहरूसँग पनि कुरा गरेका छन् । तर, उनलाई सम्बन्ध विस्तारका लागि टापुको सबैभन्दा महत्त्वपूर्ण व्यक्तिको रूपमा हेरिएको छ ।

‘उनी आफ्ना हजुरबुवाका आँखाका तारा हुन्,’ उनले राउलको अंगरक्षकको रूपमा काम गरेका थिए र जीएईएसए भनिने विशाल सैन्य–व्यावसायिक समूह चलाउने सहयोगीहरू पनि उनीसँग छन् । रुबियो–क्यास्ट्रो वार्तालाई आश्चर्यजनक रूपमा मित्रवत बताउने एक स्रोतले यो जानकारी दियो ।

‘विगतका बारेमा कुनै राजनीतिक कटु आलोचना छैन । यो भविष्यका बारेमा हो,’ स्रोतले भन्यो । स्रोतका अनुसार, उनीहरूको साझा क्युबाली विरासत र लवज मायामी र वरपरका शहरहरूको साझा सम्पर्क भाषा हो ।

‘राउलितो ठ्याक्कै फ्लोरिडाको हायलिहबाट आएको जस्तै देखिन्छन्,’ स्रोतले भन्यो, ‘यो मायामीका सडकहरूमा सामान्य मानिसहरूबीच हुने कुराकानी जस्तै हुन सक्छ ।’

भेनेजुएलामा जस्तै सन् २००३ को इराक आक्रमणपछि डिबाथिफिकेशनको विनाशकारी परिणामलाई ध्यानमा राख्दै ट्रम्पले क्युबाका केही अधिकारीहरूलाई सत्तामा रहन दिन सक्ने र पूर्ण रूपमा शासन परिवर्तनको खोजी नगर्न सक्ने विश्लेषकहरू बताउँछन् ।

ट्रम्पसँगको सम्झौता अन्तर्गत राउल क्यास्ट्रोसहित क्यास्ट्रो परिवारका केही सदस्यहरूलाई निर्वासनमा जान बाध्य पारिने छैन । त्यसले मायामीमा रहेका क्युबाली निर्वासितहरूलाई आक्रोशित बनाउन सक्छ ।

रुबियोले क्युबाका आधिकारिक नेता राष्ट्रपति मिग्वेल डियाज–कानेल बर्मुडेज वा अन्य उच्चपदस्थ अधिकारीहरूसँग कुरा गरेका छैनन् ।

‘उनीहरूलाई अमेरिकाले कम्युनिस्ट पार्टीका कट्टर कार्यकर्ताका रूपमा हेर्छ जो क्युबामा परिवर्तनको कल्पना गर्न र वार्ता गर्न असमर्थ छन्,’ ट्रम्प टोलीको सोचसँग परिचित अर्को स्रोतले भन्यो ।

युवा क्यास्ट्रो र रुबियोबीचको छलफलको बारेमा सोधिएको प्रश्नमा क्युबा सरकारले एक्सियोसलाई एक मेक्सिकन पत्रकारलाई जारी गरिएको विज्ञप्ति पठायो । त्यसमा अमेरिका र क्यास्ट्रो परिवारका अर्का सदस्य वरिष्ठ गुप्तचर अधिकारी अलेहान्ड्रो क्यास्ट्रो एस्पिनबीचको भनिएको वार्ताको खण्डन गरिएको थियो ।

‘अमेरिका र क्युबाको सरकारबीच कुनै उच्चस्तरीय वार्ता भएको छैन । मध्यवर्ती स्तरमा पनि संवाद भएको छैन । सन्देशहरूको आदानप्रदान मात्र भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘अहिले जे छ, त्यो लामो समयदेखि हुँदै आएको सामान्य कुराकानी मात्र हो वा त्यसभन्दा पनि कम । एक वर्ष अघिसम्म हाम्रो स्टेट डिपार्टमेन्टसँग वरिष्ठ अधिकारी स्तरमा नियमित संवाद हुने गर्दथ्यो । आज त्यो बाँकी छैन ।’

रुबियोले राउलिटो क्यास्ट्रोसँग कुरा गरेको कुरालाई स्टेट डिपार्टमेन्टले अस्वीकार गरेन तर एक प्रवक्ताले यस विषयमा छलफल गर्न वा टिप्पणी गर्न अस्वीकार गरे ।

क्युबालाई अमेरिकाको सहयोगी बनाउनु भेनेजुएलाको तुलनामा निकै कठिन कार्य हुनेछ । भेनेजुएलामा सबल राजनीतिक विपक्षी छ र क्युबाको कंगाल नियन्त्रणमुखी राज्य संयन्त्रको तुलनामा त्यहाँको अर्थतन्त्र बढी चलायमान छ ।

हवाना र मायामीका कट्टरपन्थीहरू बीचको आपसी शत्रुता स्ट्रेट्स अफ फ्लोरिडाको दुवैतर्फ गहिरोसँग विद्यमान छ ।

गत साता अमेरिकी संसद्का क्युबाली–अमेरिकी रिपब्लिकनहरूले ट्रम्पलाई सन् १९९६ मा क्युबाली शरणार्थीहरूलाई मद्दत गर्ने अमेरिकी सहायता समूहका सदस्यहरू बोकेको विमान खसालेको आरोपमा राउल क्यास्ट्रोलाई दोषी ठहर गर्न माग गरेका थिए । ट्रम्प प्रशासनले यसको कुनै जवाफ दिएको छैन ।

रुबियोले आफ्नो छलफलको बारेमा सार्वजनिक रूपमा धेरै केही भनेका छैनन् तर गत महिना एक सिनेट सुनुवाइमा उनले के औंल्याए भने क्युबाले राजनीतिक बन्दीहरूलाई रिहा गरेन, स्वतन्त्र प्रेसलाई अनुमति दिएन र चुनाव गरेन भने शासन परिवर्तन गर्ने अमेरिकी कानूनको लक्ष्य हो ।

ट्रम्पले क्युबाको सन्दर्भमा कस्तो कदम चाल्ने भन्ने निर्णय गरिसकेका छैनन् ।

भेनेजुएलामा देखिए जस्तै आफ्नो निर्णय प्रक्रियाको एक भागका रूपमा ट्रम्पले रुबियो जस्ता भरपर्दो सल्लाहकारहरूलाई विकल्पहरू पेश गर्ने जिम्मा दिने गर्छन् ।

एक स्रोतका अनुसार, ट्रम्पले क्युबाको व्यवस्थापनभन्दा इरान र युक्रेनको युद्ध सुल्झाउन बढी ध्यान दिइरहेका छन् जहाँ रुबियो अझै पनि विकल्पहरू जुटाउँदैछन् ।

‘क्युबा असफल राष्ट्र हो र उनीहरूसँग विमान उडाउनका लागि जेट इन्धनसम्म छैन,’ ट्रम्पले सोमबार राति एयर फोर्स वानमा पत्रकारहरूलाई बताए ।

‘हामी अहिले क्युबासँग कुरा गरिरहेका छौं र उनीहरूले पक्कै पनि सम्झौता गर्नुपर्छ ।’