
काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं विमानस्थलमै आइपुगिसकेको जहाज अवतरण नगरी बंगलादेशको राजधानी ढाका डाइभर्ट भएको छ ।
टर्किस एयरलाइन्सको उडान नम्बर टीके ७२६ जहाजमा अवतरण गर्ने क्रममा प्राविधिक समस्या देखिएको थियो । उक्त समस्याका कारण जहाज नेपालमा अवतरण गर्न जोखिम मानेर ढाका डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले बताए।
उनका अनुसार यो जहाजमा वार्निङ सिस्टममा समस्या देखिएपछि ‘ओभरसुट’ गरी बंगलादेशको ढाका गएको हो । जहाज पहाडको नजिक आइपुग्दा आउने ‘वार्निङ साइन’ देखिएकाले प्राविधिक रूपमा र सहजताका हिसाबले नेपालमा अवतरण नगर्ने र बंगलादेश जाने निर्णय चालक दलले गरेको पनि उनले बताए ।
जहाजको ‘ग्राउन्ड प्रक्सिमिटी वार्निङ सिस्टम’ मा समस्या देखिएको छ । यसले जहाज जमिनबाट कति टाढा छ भनेर देखाउँछ । जहाजमा देखिएको यो समस्यालाई विमानस्थल कार्यालयले ‘फल्स वार्निङ’ भनेको छ ।
यस्तो समस्या आउँदा प्रविधिको सहायताले गरिने अवतरण (आइएफआर) उडानमा पहाड नजिक देखिएको अवस्थामा अवतरण गर्नु जोखिम हुने भएकाले जहाज डाइभर्ट गर्ने निर्णय लिइएको जानकारी उनले क्लिकमान्डुलाई दिए ।
काठमाडौं आइपुगिसकेको उक्त जहाज ढाकामा अवतरण गरिसकेको र आवश्यक मर्मत गरेर यात्रु लिएर पुनः काठमाडौं आउनेछ ।
बुधबार बिहान १०:५६ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने यो जहाज अवतरण गर्न लाग्दा समस्या देखिएपछि डाइभर्ट भएको हो ।








प्रतिक्रिया