
एजेन्सी । भारतमा चलिरहेको एआई समिट एक्स्पोमा लगोटियास विश्वविद्यालयले प्रदर्शनीमा राखेको एक रोबोटिक कुकुरका बारेमा उत्पन्न विवादपछि विश्वविद्यालयलाई कार्यक्रमबाट आफ्नो स्टल तुरुन्तै खाली गर्न भनिएको छ ।
रिपोर्टहरूका अनुसार, विश्वविद्यालयले एक्स्पोमा ओरियन नामक रोबोटिक कुकुरलाई आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स पहलहरूको हिस्साको रूपमा प्रस्तुत गरेपछि यो विवाद सुरु भएको हो । तर, सामाजिक सञ्जालमा आलोचकहरूले यो उपकरण वास्तवमा चीनमा निर्मित युनिट्री गो २ भएको र विश्वविद्यालयको आफ्नै आविष्कार नभएको आरोप लगाएका छन् ।
अनलाइनमा बढ्दो विरोध र आयातित प्रविधिलाई आफ्नै भनेर गलत रूपमा प्रस्तुत गरेको आरोपका बीच विश्वविद्यालयलाई आफ्नो स्टल खाली गर्न निर्देशन दिइएको थियो ।
विवाद चर्किएपछि गलगोटियास विश्वविद्यालयले एक आधिकारिक स्पष्टीकरण जारी गर्दै संस्था विरुद्धको दुष्प्रचार अभियानप्रति चिन्ता व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी स्पष्ट पार्छौं, गलगोटियासले यो रोबोटिक कुकुर बनाएको होइन, न त हामीले यस्तो दाबी नै गरेका छौं । तर, हामी त्यस्ता मस्तिष्कहरू तयार गर्दैछौं जसले चाँडै नै भारतमै यस्ता प्रविधिहरूको डिजाइन, इन्जिनियरिङ र निर्माण गर्नेछन् ।’
यसको लक्ष्य विद्यार्थीहरूको सिकाइ र आविष्कारमा केन्द्रित रहेको र विद्यार्थीहरूलाई व्यावहारिक अनुभव प्राप्त गर्नका लागि मद्दत पुर्याउन आधुनिक प्रविधिहरूमा पहुँच प्रदान गर्ने गरिएको विश्वविद्यालयले थप स्पष्ट पारेको छ ।
‘नकारात्मकता फैलाउँदा ती विद्यार्थीहरूको मनोबलमा चोट पुग्न सक्छ जो विश्वव्यापी प्रविधिहरू प्रयोग गरेर नयाँ कुरा सिक्न, आविष्कार गर्न र आफ्नो सीप विकास गर्न कडा मेहनत गरिरहेका छन्,’ विज्ञप्तिमा उल्लेख छ ।
गलगोटियास विश्वविद्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा ओरियनलाई आफ्नो पेभिलियनमा भीड आकर्षित गर्ने प्रमुख आकर्षणको रूपमा वर्णन गरिएको छ । विश्वविद्यालयका अनुसार, यस रोबोटिक प्रणालीले प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गरेको थियो र एप्लाइड रोबोटिक्स तथा इन्टेलिजेन्ट सिस्टम इन्टिग्रेशनको प्रदर्शन गरेको थियो ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रत्यक्ष प्रदर्शनले धेरैको ध्यान खिच्यो जसले प्रयोगात्मक र वास्तविक संसारमा एआई परिचालनमा विश्वविद्यालयले दिँदै आएको जोडलाई थप बल पुर्याएको छ ।’
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको भारत मण्डपममा इन्डिया एआई इम्प्याक्ट एक्स्पो २०२६ को उद्घाटन गर्दै आर्टिफिसियल इन्टेलिजेन्समा भारतको प्रगतिले राष्ट्रिय रूपान्तरणमा मात्र नभई विश्वव्यापी प्रगतिमा पनि योगदान पुर्याउने बताए ।
यस शिखर सम्मेलनमा २० भन्दा बढी राष्ट्राध्यक्ष, ६० मन्त्री र ५०० भन्दा बढी विश्वव्यापी एआई नेताहरूको सहभागिता रहेको छ जसले गर्दा यो ग्लोबल साउथमा आयोजित सबैभन्दा ठूला एआई भेलाहरूमध्ये एक बनेको छ ।








प्रतिक्रिया