नक्कली र सक्कली नोट कसरी चिन्ने ? यस्तो छ सजिलो तरिका

63
Shares

काठमाडौं । पछिल्लो समय बजारमा नक्कली (जाली) नोटको कारोबार हुन सक्ने जोखिम बढेपछि नेपाल राष्ट्र बैंकले ५०० र १००० दरका सक्कली र नक्कली नोट छुट्याउने सहज तरिका सार्वजनिक गरेको छ । बैंकका अनुसार साधारण कागज जस्तो चिप्लो महसुस हुने, रङ फिक्का देखिने वा सुरक्षण धागो (सेक्युरिटी थ्रेड) रङले पोतेको वा टाँसेको जस्तो देखिएमा त्यस्ता नोटहरू नक्कली हुन सक्छन् ।

राष्ट्र बैंकका अनुसार नोटलाई हेरेर, छामेर, ढल्काएर र मेसिनको प्रयोग गरेर पहिचान गर्न सकिन्छ । १००० को सक्कली नोट प्रकाशतर्फ फर्काएर हेर्दा लालीगुराँस र १००० अङ्कको ‘वाटरमार्क’ स्पष्ट देखिन्छ । यस्तै, ‘सी-थ्रु रजिस्टर’ मा पूर्ण रूपमा १००० अङ्क बनेको देखिन्छ । नोटलाई छाम्दा केही खस्रो महसुस हुन्छ । दृष्टिविहीन व्यक्तिहरूको पहिचानका लागि नोटमा अङ्ग्रेजी अक्षर ‘एम’ राखिएको हुन्छ, जुन छाम्दा अलिकति उठेको महसुस हुन्छ।

त्यस्तै, नोटलाई ढल्काउँदा सुरक्षण धागोको रङ परिवर्तन भएको देखिन्छ । नोटलाई ढल्काएर हेर्दा भगवतीको आकृति चाँदी (सिल्भर) रङको देखिन्छ भने ‘इरिडिसेन्ट इन्क’का कारण नोटमा सुनौलो रङ स्पष्ट देखिन्छ । अल्ट्रा भायोलेट (यूभी) लाइटमा राखेर हेर्दा सगरमाथाको आकृति, गभर्नरको हस्ताक्षर र नोटको नम्बर चम्किलो देखिन्छ ।

५०० को नोटलाई पनि यसैगरी पहिचान गर्न सकिन्छ । ५०० को नोटलाई प्रकाशतर्फ फर्काएर हेर्दा लालीगुराँसको वाटरमार्क देखिन्छ भने सुरक्षण धागोमा ५०० र बाघको आकृति स्पष्ट देखिन्छ । यसको पनि प्रिन्ट गरिएको भाग केही उठेको हुन्छ ।

दृष्टिविहीनका लागि नोटको एकापट्टि दुईवटा थोप्ला रहेका हुन्छन्, जसलाई छामेर सजिलै चिन्न सकिन्छ ।

५०० को नोट ढल्काएर हेर्दा सुरक्षण धागोको रङ रातोबाट हरियोमा परिवर्तन हुन्छ । साथै, कुबेरको आकृति भएको भागलाई ढल्काउँदा सुनौलोबाट हरियो रङमा बदलिन्छ । यो नोटलाई पनि अल्ट्रा भायोलेट लाइटमा राखेर हेर्दा सगरमाथाको आकृति र नोटका नम्बरहरू टल्कने गरी राखिएको हुन्छ ।

जाली नोट छाप्नु, ओसारपसार गर्नु वा कारोबार गर्नु गैरकानुनी कार्य हो । यदि कसैले शङ्कास्पद नोट फेला पारेमा तुरुन्त नजिकैको प्रहरी कार्यालय वा बैंक तथा वित्तीय संस्थामा खबर गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।