टिप्पणी

झापाले तय गर्दैछ नेपाली राजनीतिको नयाँ मोड


विराटनगर । भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन र त्यस क्रममा भएको विध्वंसपछि फागुन २१ गतेका लागि घोषित ‘एक्सिडेन्टल इलेक्सन’का कारण झापा यतिबेला राजनीतिको केन्द्रविन्दु (इपिसेन्टर) बनेको छ । यही इपिसेन्टरले पर्खिरहेको छ- मुलुकका लागि ‘बा’ कि बालेन ? अनि नेपाली राजनीतिले लिने नयाँ मोड ।

यो निर्वाचनले झापाबाट भावी प्रधानमन्त्रीका दुई उम्मेदवारमध्ये एकजना र निवर्तमान सभामुख वा उपसभामुखमध्ये एकजनालाई प्रतिनिधिसभा प्रवेशमा रोक लगाउने निश्चित छ । त्यति मात्र होइन, झापाले यसपटक गठबन्धनबिना नै चुनावी मैदानमा होमिएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पनि कडा परीक्षा लिँदैछ ।

झापा निर्वाचन क्षेत्र नं. ५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी मैदानमा छन् । उनीहरू दुवैलाई आ–आफ्नो दलले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ ।

त्यसैगरी, झापाकै निर्वाचन क्षेत्र नं. २ बाट निवर्तमान सभामुख देवराज घिमिरे (एमाले) र उपसभामुख इन्दिरा राना (रास्वपा) आमनेसामने छन् ।

झापा क्षेत्र नं. ३ ले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई गठबन्धनबिनाको चुनावी परीक्षा लिँदै छ । विगतका चुनावमा यहाँ राप्रपा र एमाले तथा कांग्रेस र माओवादीबीच चुनावी तालमेल हुँदै आएको थियो । तर, यसपटक यहाँ पनि दलहरू एक्लाएक्लै मैदानमा छन् । लिङ्देनले २०७४ र २०७९ मा यही क्षेत्रबाट चुनाव जितेका थिए । उनीसँग दुवैपटक निकटतम प्रतिस्पर्धी बनेका कांग्रेसका कृष्णप्रसाद सिटौला यसपटक चुनावी मैदानबाट ‘रिङआउट’ छन् । यहाँ कांग्रेसले राजेन्द्रकुमार घिमिरेलाई उम्मेदवार बनाएको छ ।

यसैकारण झापा यसपटक ‘इलेक्सन इपिसेन्टर’का रूपमा परिणत भएको छ । फागुन २१ पछि नेपाली राजनीतिले कुन मोड लिन्छ भन्ने निर्णय पनि झापाले नै गर्नेछ । त्यसैले फागुन २१ को मतपेटिकाभित्र केवल मत मात्र होइन, देशको भावी राजनीतिक सङ्केतहरू बन्द हुनेछन् । झापाले जसलाई जिताउँछ, त्यसले संसद्को अङ्कगणित मात्र होइन, सरकारको नेतृत्व र सत्ता समीकरणको दिशासमेत तय गर्नेछ ।

झापा ५: ओली कि बालेन ?

यतिबेला देशमा ‘ओली कि बालेन’ भन्ने चर्चा उत्कर्षमा छ । यी दुईबाहेक नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई पनि सम्भावित प्रधानमन्त्रीका रूपमा हेरिएको छ । यद्यपि, पछिल्ला दुई नेता झापाबाहिरबाट प्रतिस्पर्धा गरिरहेकाले यहाँ उनीहरूको चर्चा गरिरहनु सान्दर्भिक रहेन । ओली र बालेनका नाममा देशमा मात्र होइन, विश्वभर रहेका नेपालीहरू पनि विभाजित छन् । यो विभाजनको रेखा सामाजिक सञ्जाल र यसको ‘एल्गोरिदम’ले कोरेका कारण यो निर्वाचनलाई ‘एल्गोरिदमको इलेक्सन’ भन्दा अत्युक्ति हुँदैन ।

भदौ २३ र २४ को विध्वंस र देशकै अस्तित्व सङ्कटमा पर्ने गरी गरिएको आक्रमणका कारण नियमित समयभन्दा अगावै आएको यो ‘एक्सिडेन्टल इलेक्सन’ हो । एल्गोरिदमको फन्दामा परेको यो निर्वाचनको मिति नजिकिँदै गर्दा देशभर चुनावी चहलपहल बढेको छ । अहिले राजनीतिक नाडी जहाँ सबैभन्दा तीव्र रूपमा धड्किरहेको छ, त्यो ठाउँ झापा नै हो । पाँचवटा निर्वाचन क्षेत्र, ९० जना उम्मेदवार र सात लाख १३ हजारभन्दा बढी मतदाता भएको झापा यसपटक केवल एउटा जिल्ला मात्र होइन, देशको राजनीतिक भविष्यको परीक्षण स्थल हो ।

वर्तमान संविधान र व्यवस्थालाई मृत्युशय्या नजिक पुर्‍याउने गरी भएको भदौ २३ र २४ को घटनालाई ‘क्रान्ति’ मान्ने र त्यसलाई ‘विध्वंस वा प्रतिक्रान्ति’ मान्ने पक्षबीचको जनमत सङ्ग्रहका रूपमा आसन्न निर्वाचनलाई हेरिएको छ । झापाको प्रतिस्पर्धालाई देश बनाउने र डढाउने तथा देश बचाउने र सकाउने शक्तिबीचको अग्निपरीक्षाका रूपमा पनि विश्लेषण गरिँदै आएको छ ।

दलहरू एक्लाएक्लै मैदानमा उत्रिएको यो चुनाव केवल हार–जितको हिसाब मात्र होइन, जनमतले कसलाई विश्वास गर्छ भन्ने वास्तविक शक्ति परीक्षण पनि हो । घरदैलोमा पुगेका उम्मेदवारका अनुहार, मतदाताका प्रश्न र मौन सङ्केतले झापामा धेरै कुरा बोलिरहेका छन् ।

झापाको लोकप्रिय मौसमी खाजा ‘भक्का’को धक्काले कसलाई कता पुर्‍याउँछ, त्यो हेर्न बाँकी नै छ । त्यसैगरी, मतदाताले चुपचाप केमा छाप लगाउँछन्, त्यो पनि प्रतीक्षित छ । सामाजिक सञ्जालको हल्लाले जित निकाल्छ कि घर–घरमा भइरहेको भलाकुसारीले ? त्यो फागुन २१ गते सिलबन्दी हुने मतपेटिका खुलेपछि प्रस्ट हुने नै छ ।

निर्वाचनको मिति नजिकिएसँगै चुनावी चासोको केन्द्र झापा–५ बनिरहेको छ । जहाँ भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिस्पर्धी छन् । यहाँ अरू दलका उम्मेदवार पनि मैदानमा छन् । नेपाली कांग्रेसकी मन्थरा चिमरिया पौडेल र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङलगायत केही उम्मेदवारको चर्चा भए पनि अरूको खासै चर्चा छैन । यहाँ कुल २४ जना उम्मेदवार छन् । श्रम संस्कृति पार्टी र राप्रपाको चर्चा जितभन्दा पनि उनीहरूले कति भोट काट्लान् भन्नेमा सीमित छ ।

भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन र ओली तथा निवर्तमान सभामुख र उपसभामुखमध्ये एक–एक जनाको संसद् यात्रा झापामै रोकिने भएकाले पनि देशभरको चासो यहाँ केन्द्रित छ । यसपटक हरेक क्षेत्रका मतदाता आक्रोशित देखिन्छन् । ‘केही भएन र केही गरेनन्’ भन्नेबाहेक मतदातासँग आक्रोशका ठोस तर्क भने पाइँदैन । यसले के प्रस्ट पार्छ भने यसपालि मतदाता सामाजिक सञ्जालमा व्यक्त आक्रोशबाट बढी प्रभावित छन् ।

यद्यपि, ३५ वर्षसम्म शासन गरेका दल र उनीहरूको नेतृत्वमाथि जनताका प्रश्नहरू धेरै छन् । छोराछोरी राम्रो शिक्षाका लागि विदेश जानुपर्ने बाध्यता, शिक्षित वा अर्धदक्ष युवा रोजगारीका लागि विदेश दौडिनुपर्ने विडम्बना, सामाजिक सञ्जालबाट मात्रै परिवार जोडिनुपर्ने अवस्था, चाडबाडमा समेत आमाबाबु र छोराछोरी सँगै बस्न नपाउने पीडा, भ्रष्टाचारले थिलथिलो बनेको देश, नेताका आसेपासे र बिचौलियाको चङ्गुल, अनि भू–राजनीतिक कारणले विश्व शक्ति राष्ट्रहरूको क्रीडास्थल बन्ने खतरा जस्ता विषयले जनता पिरोलिएका छन् ।

उल्लिखित प्रश्नहरूमा कुनै पनि दलका उम्मेदवारले ठोस जवाफ दिन सकेका छैनन् । २०४८ सालदेखि हरेक निर्वाचनमा विकल्प खोजिरहेका जनता यसपटक पनि विकल्पकै खोजीमा रहेको चर्चा झापाका चोक र घरहरूमा चलिरहेको छ ।

सामाजिक सञ्जालको एल्गोरिदम मतमा परिणत हुन्छ कि हुँदैन ? घर–घर र चोक–चोकमा चलेको चर्चा मतमा बदलिन्छ कि बदलिँदैन ? अनि दलहरूको साङ्गठनिक मत कायम रहन्छ कि रहँदैन ? यसैले झापा–५ को नतिजा र देशको भविष्य निर्धारण गर्नेछ । आरोप लगाइए जस्तो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भदौ २३ को घटनाका दोषी हुन् कि होइनन्, र सरकारको दमनपछि आक्रोशित हुँदै भोलिपल्ट देश जलाउने कार्यलाई सही भन्ने पक्ष दोषी हुन् कि होइनन्, त्यसको कानुनी परीक्षण समयक्रममा होला नै । तर, जनताका तर्फबाट फागुन २१ गते मतमार्फत यसको परीक्षण पक्कै हुनेछ । नयाँ र परिवर्तनका नाममा लागेको नारामा मोहर लागे नयाँले परिणाम लैजानेछन् भने साङ्गठनिक मत जोगाउन सके पुरानै नेतृत्व दोहोरिनेछ । रास्वपाले ‘अर्गानिक’ मतभन्दा पनि अरू दलबाट आक्रोशित भएकाहरूको मत तान्ने देखिन्छ । पुराना दलले आफ्नो साङ्गठनिक मत कति सुरक्षित गर्छन्, त्यो फागुन २१ को साँझ मतपेटिका शिलबन्दी भएपछि थाहा हुनेछ ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट ओलीले ५२ हजार ३ सय १९ मतका साथ सहज जित निकालेका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ र रास्वपाका सुरेश पोखरेलले ११ हजार ७ सय ४९ मत पाएका थिए । यसपटक झापा–५ मा १ लाख ६३ हजार ३ सय ८९ मतदाता छन्, जसमध्ये १० हजार नयाँ मतदाता हुन् । यहाँ २४ जना उम्मेदवार मैदानमा छन् ।

ओली यस क्षेत्रबाट २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ का निर्वाचनमा विजयी भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा भने उनी तत्कालीन माओवादीका विश्वदीप लिङ्देनसँग १२ सय मतले पराजित भएका थिए ।

यसकारण झापा यसपटक चुनावी मैदान मात्र नभएर नेपाली राजनीतिले कुन दिशा लिन्छ भन्ने निर्णय गर्ने थलो बन्दै छ । प्रश्नले घेरिएका अनुभवी नेताहरूको साख र नयाँ राजनीतिक शक्तिको चुनौती एउटै तराजुमा राखिँदा मतदाताको निर्णय निर्णायक बन्दै गएको छ । गठबन्धनको सहाराबिना नै दलहरू मैदानमा उत्रिएको र ‘जेनजी’ आन्दोलनपछि परिवर्तनको हावा चलिरहेको यो चुनावले दलहरूको वास्तविक जनाधार, नेतृत्वप्रतिको विश्वास र मतदाताको बदलिँदो मनोविज्ञान स्पष्ट पार्नेछ । फागुन २१ को मतपेटिकाभित्र केवल मत होइन, देशको भावी राजनीतिक सङ्केत शिलबन्दी हुनेछ । झापाले जसलाई जिताउँछ, त्यसले संसद्को अङ्कगणित मात्र होइन, सरकारको नेतृत्व र सत्ता समीकरणको दिशासमेत तय गर्नेछ ।

झापा–२ मा निवर्तमान सभामुख देवराज घिमिरे (एमाले) र उपसभामुख इन्दिरा राना (रास्वपा) चुनावी मैदानमा छन् । २०७९ मा घिमिरे यहीँबाट निर्वाचित भएका थिए । यहाँ कांग्रेसकी सरिता प्रसाईं, नेकपाकी धर्मशीला चापागाईं र राप्रपाका भद्रप्रसाद (स्वागत नेपाल) सहित १८ जना उम्मेदवार छन् । स्वागत नेपाल अघिल्लोपटक स्वतन्त्र उम्मेदवार हुँदा दोस्रो भएका थिए । घिमिरेले २८ हजार ७ सय १६ मत पाउँदा नेपालले २६ हजार ४ सय ५५ मत पाएका थिए भने रास्वपा चौथो शक्ति बनेको थियो ।

झापा–३ मा ‘हेभीवेट’ उम्मेदवारका रूपमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन छन् । विगतमा यहाँ एमाले–राप्रपा र कांग्रेस–माओवादी तालमेल हुने गरे पनि यसपालि सबै एक्लाएक्लै छन् । लिङ्देनले २०७४ र २०७९ मा एमालेको सहयोगमा जितेका थिए । उनका प्रतिस्पर्धी कृष्णप्रसाद सिटौला यसपटक मैदानबाहिर छन् । यहाँ कांग्रेसले राजेन्द्रकुमार घिमिरे, एमालेले हरिबहादुर राजवंशी, नेकपाले डिल्लीराम घिमिरे र रास्वपाले प्रकाश पाठकलाई उठाएको छ । अघिल्लो चुनावमा लिङ्देनले ४० हजार ६ सय ६२ र सिटौलाले ३७ हजार ३ सय ८६ मत पाएका थिए ।

यसरी झापाका ५ निर्वाचन क्षेत्रका ९० जना उम्मेदवार र ७ लाख १३ हजार ५ सय ३७ मतदाता (जसमा ५० हजार २ सय २६ नयाँ मतदाता छन्) को यो फैसलाले नेपालको राजनीतिलाई नयाँ दिशा दिने निश्चित छ ।