करिब ९ खर्ब तरलता प्रशोचन गरेको राष्ट्र बैंकले मंगलबार थप ४० अर्ब खिच्दै

7
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । मंगलबार निक्षेप संकलन बोलकबोल मार्फत ८९ दिनका लागि ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।

केन्द्रीय बैंकले अधिक तरलता भएर निरन्तर तरलता प्रशोचन गर्नुपर्ने अवस्था आएपछि सञ्चालक समितिबाट निर्णय गरेर नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गरेको थियो । १ वर्ष अवधिको लागि २ खर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र मार्फत तरलता खिचेपनि अधिक तरलताको दबाब कायम छ ।

निक्षेप लगातार बढे पनि कर्जाको माग अपेक्षित रुपमा बढ्न सकेको छैन । जसले गर्दा बैंकहरुले निक्षेपको ब्याजदर लगातार घटाइरहेका छन् । वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा दिने अधिकतम ब्याजदरको औसत नै साढे ४ प्रतिशतको नजिक झरेको छ ।

राष्ट्र बैंकको फागुन ४ गतेको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा अधिक तलरता भए पनि प्रशोचन गरेको रकम ८ अर्ब ८९ करोड ३० लाख रुपैयाँ पुगेको छ । २ खर्ब रुपैयाँ राष्ट्र बैंक ऋणपत्र मार्फत प्रशोचन गर्दा निक्षेप संकलन बोलकबोल मार्फत ४ अर्ब ८३ करोड ८० लाख रुपैयाँ र स्थायि निक्षेप सुविधा मार्फत २ खर्ब ५ अर्ब ५० करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ ।

राष्ट्र बैंकले छोटो अवधिको लागि ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरमा स्थायि निक्षेप सुविधा दिदै आएको छ । हाल निक्षेप संकलन दर २.७५ प्रतिशत तोकेको छ ।

मंगलबार केन्द्रीय बैंकले थप ४० अर्ब रुपैयाँ निक्षेप संकलन बोलकबोल मार्फत प्रशोचन गर्न लागेको हो । यसको ब्याजदर बोलकबोलमार्फत तय हुनेछ ।