घरजग्गा कारोबारबाट हुने राजस्व संकलन सवा दुई अर्बले बढ्यो, यस्तो छ कारोबार विवरण

147
Shares

काठमाडौं । घरजग्गा कारोबारबाट हुने राजस्व संकलन सवा २ अर्ब रुपैयाँले बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिना (साउन–माघ)सम्ममा घरजग्गा कारोबारबाट २६ अर्ब ९६ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तो राजस्व संकलन अघिल्लो वर्ष २०८१/८२ को सोही अवधिमा २४ अर्ब ७१ करोड रुपैयाँ संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको मासिक तथ्यांक विवरणले देखाएको छ ।

घरजग्गा कारोबारबाट भएको यस्तो राजस्व संकलन चालु आवको पहिलो ७ महिनामा २ अर्ब २५ करोड ४७ लाख रुपैयाँले बढेको छ । यो राजस्व बृद्धिदर गत वर्षको तुलनामा ९.१२ प्रतिशतले बढी हो ।

साउनमा ३ अर्ब २८ करोड, भदौमा ३ अर्ब १४ करोड, असोजमा २ अर्ब ७५ करोड, कात्तिकमा २ अर्ब ७४ करोड, मंसिरमा ४ अर्ब ४८ करोड, पुसमा ५ अर्ब १७ करोड र माघमा ५ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

तथ्यांक अनुसार पुसमा यो वर्षकै सबैभन्दा बढी ५ अर्ब १७ करोड रुपैयाँको राजस्व संकलन भएको छ । यो समयमा भएको घरजग्गाको मासिक कारोबार पनि १ लाख ४० हजार छ ।

पछिल्लो सात महिनामा ८ लाख ५६ हजार वटा करोबार भएको छ । यस्तो कारोबार गत वर्षको सोही अवधिमा ८ लाख ४५ हजार वटा थियो ।

घरजग्गा कारोबार पछिल्लो सात महिनामा गत वर्षको सोही अवधिको तुलनामा १० हजार ३४९ ले बढेको छ । यस्तो कारोबार गत वर्षको तुलनामा चालु आवमा १.२ प्रतिशतले मात्रै बढी हो । तथ्यांकले घरजग्गा कारोबार विस्तारै बढेसँगै राजस्व संकलन पनि बढेको देखिएको छ ।