निजी क्षेत्रलाई राष्ट्रिय विकासको साधनका रूपमा बुझ्न आवश्यक छ

14
Shares

जुनसुकै मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महत्त्वपूर्ण मानिन्छ । नेपालका सन्दर्भमा पनि निजी क्षेत्रलाई अर्थतन्त्रको महत्त्वपूर्ण पाटोको रूपमा व्याख्या गर्ने कार्य नभएको होइन । तर, हरेक आन्दोलन र प्रदर्शनका क्रममा निजी क्षेत्र र यस क्षेत्रको संरचना नै निशानामा पर्ने गरेका छन् । गएको भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा पनि निजी क्षेत्र नै यसको सिकार हुन पुग्यो ।

जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले अत्यन्त ठूलो क्षति बेहोर्नुपर्‍यो । निजी सम्पत्ति, व्यापारिक प्रतिष्ठान तथा भवनमा समेत आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भयो । निजी क्षेत्रका लागि यो अत्यन्तै पीडादायी अवस्था हो । जेनजी प्रदर्शनले सिर्जित गरेको अनिश्चितताले सुदृढ हुँदै गरेको लगानी वातावरणमा गम्भीर धक्का दिएको छ ।

अहिलेको अवस्था लगानी गर्नका लागि उपयुक्त समय होइन भन्ने निष्कर्षमा निजी क्षेत्र पुगेको छ । व्यक्तिगत रूपमा मात्रै नभएर कर्मचारी तथा व्यावसायिक जगतले पनि हाल एक किसिमको सुरक्षा चुनौती अनुभव गरिरहेका छन् । जुनसुकै बेला पनि कोही व्यक्तिले जेनजीको नाममा व्यवसायमाथि आक्रमण गर्न वा सम्पत्ति नष्ट गर्न सक्छन् कि भन्ने त्रास व्याप्त छ ।

भोलिका दिनमा पनि यस्ता घटना हुन सक्ने त्रासका कारण सुरक्षा जोखिमको अवस्था निकै बढेको महसुस हामीले गरिरहेका छौं । जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण जोगाउन सरकारले जुन किसिमको प्रयास गर्नुपर्ने थियो त्यो भएको देखिँदैन । हालसम्म नेपालमा लगानी वातावरण जोगाउन सरकारबाट कुनै उल्लेखनीय र प्रभावकारी कदम नचालिएको विषय समग्र निजी क्षेत्रबाट नै उठिरहेको छ ।

अहिले देशबाट ठूलो मात्रामा पुँजी पलायन भइरहेको छ र यस्तो अवस्थामा कुनै पनि व्यवसायी लगानी गर्न तयार रहेको देखिँदैन । त्यसैले सरकारले पुँजी पलायन रोक्न कडा कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ । लगानीकर्ताको मनोबल तथा आत्मविश्वास बढाउने वातावरण निर्माणमा सरकार र समाज अघि बढ्न आवश्यक छ ।

अबका दिनमा युवाले राष्ट्रिय विकासका लागि स्पष्ट दृष्टिकोण सहित नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ । विदेशी लगानी आकर्षित गर्ने र सुरक्षासहित विश्वास दिलाउने सुदृढ विदेश नीति बनाएर अघि बढेमा मात्रै हाम्रो लगानी र व्यावसायिक वातावरणमा सुधार हुने देखिन्छ ।

भविष्यमा निजी क्षेत्रमाथि आक्रमण हुन नदिन वा यस्ता प्रदर्शनको असरबाट निजी क्षेत्रलाई जोगाउका लागि पनि सरकार र हामी सबै व्यवसायी जिम्मेवार हुन आवश्यक छ । यस्ता घटना भविष्यमा नदोहोरिऊन् भनी सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्छ । शासन प्रणाली पूर्ण रूपमा जनहितमुखी र भ्रष्टाचारमुक्त बनाउनुपर्छ भन्ने हाम्रो मान्यता छ ।

यस्ता घटनाको मुख्य कारण नै भ्रष्टाचार भएकाले सुशासन, जनकल्याण र जनहितको संरक्षण अनिवार्य छ । हामी सबैले निजी क्षेत्रलाई राष्ट्रिय विकासको साधनका रूपमा बुझ्नुपर्छ ।

सरकारले निजी क्षेत्र नाफा मात्र सोच्छ भन्ने नभई राष्ट्रिय आर्थिक वृद्धिमा सहयोग गर्ने साझेदार हो भन्ने दृष्टिकोण राख्नुपर्छ । नेपालमा अहिले निजी क्षेत्रलाई नाफामुखी मात्र भनेर हेर्ने प्रवृत्ति छ ।

यथार्थमा भन्नुपर्दा निजी क्षेत्रको भूमिकालाई सधैं अवमूल्यन गरिएको छ । यस दृष्टिकोणलाई बदल्नुपर्छ । नेपालमा विदेशी लगानीको वातावरण बनाउन विदेशी लगानीकर्ताले आफ्नो आम्दानी सहज रूपमा फिर्ता लैजान सक्ने स्पष्ट योजना र वातावरण सरकारले तयार गर्न सक्नुपर्छ । कर छुटको व्यवस्था, कर अनुदान प्रदान गर्नुका साथै मूल्य अभिवृद्धि कर १३ प्रतिशतबाट घटाउनुपर्छ । यसका अलावा, आयकर कम गर्ने, लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्ने कार्य गरेमा नेपालमा विदेशी लगानीको वातावरण बन्ने देखिन्छ ।

(प्रस्तुत लेख ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययनका क्रममा सोधिएका प्रश्नहरुमा ऊर्जा व्यवसायीसमेत रहेका अपि पावर लिमिटेडका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले दिएको जवाफका आधारमा तयार पारिएको हो।)