डलरको ‘डेथ स्पाइरल’ र सुनको उदय: अमेरिकी मुद्राप्रतिको विश्वास किन टुट्दैछ ?


काठमाडौं । डलरको प्रभाव क्रमशः घट्दै गएको विषयमा व्यापक विश्लेषणहरू आइरहेका छन् ।

त्यसैक्रममा अमेरिकाको मर्मिकन क्यापिटल नामक कम्पनीले सोमबार (९ फेब्रुअरीमा) प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनमा विश्लेषक ड्यानियल ओलिभरले विश्वव्यापी मौद्रिक व्यवस्थाको रोचक चित्र प्रस्तुत गरेका छन् ।

उनको शोध अस्ट्रियाली आर्थिक सिद्धान्तको जगमा अडिएको छ । त्यसअनुसार, मुद्राहरूको मूल्य बिस्तारै र शान्तिपूर्ण रूपमा समाप्त हुँदैन । तिनीहरू एक डिफ्लेसनरी एबिस अर्थात् मुद्रा अवमूल्यनको खाडलमा खस्छन् र त्यसपछि तिनीहरूको भयंकर अवमूल्यन हुन्छ । अहिले अमेरिकी डलर कमजोर बन्दै गएको देख्दा विश्व अब मानक बजार चक्रमा नरहेको बरु एक शताब्दीअघि सुरु भएको ऋण विस्तारको अन्तिम चरणमा रहेको ओलिभर तर्क गर्छन् ।

ओलिभरले फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण गर्ने रुसको डलर मौज्दात रोक्का गर्ने कार्यलाई अमेरिकी डलरको प्रभुत्व घट्ने क्रमको निर्णायक मोडका रूपमा पहिचान गरेका छन् । विश्वव्यापी सञ्चित मुद्राका रूपमा रहेको डलरलाई प्रतिबन्ध र जफतको हतियार बनाएर अमेरिकाले प्रभावकारी रूपमा ट्रिफिन डिलेमालाई उल्टो दिशामा सक्रिय गरिदियो।

त्यसपछि सार्वभौम सम्पत्ति कोष र केन्द्रीय बैंकहरूले डलरमा आधारित सम्पत्तिहरू जोखिममुक्त नरहेको महसुस गर्दै सुनको सञ्चय बढाउन थाले । सुन कुनै पनि जोखिमविरुद्धको एक मात्र भरपर्दो तरल सम्पत्ति हो ।

मर्मिकनले गरेको विश्लेषणमा उपयोग भएका चार्टहरूले यसलाई प्याराबोलिक (तीव्र गतिको) चालका रूपमा चित्रण गरेका छन् । रिटेल स्पेकुलेशनद्वारा सञ्चालित विगतका सुन बजारहरू भन्दा फरक यो चरण संस्थागत र राज्य–स्तरको फाइनल सेटलमेन्ट खोज्ने प्रवृत्तिबाट चिनिन्छ ।

ओलिभरको तर्क ल्युक ग्रोमेन र जोल्टन पोजसार लगायतका अर्थशास्त्रीहरूका विश्लेषणसँग मिल्दोजुल्दो छ । ग्रोमेनले द फरेस्ट फर द ट्रीज नामक कम्पनीका लागि तयार पारेका विश्लेषण र पोजसारले क्रेडिट स्विस रिसर्चका लागि सन् २०२२ मा तयार पारेको प्रतिवेदन सेकेन्ड ब्रेटन उड्समा इनसाइड मनी अर्थात् खातामा आधारित ऋणबाट आउटसाइड मनी (सुन वा वस्तु) मा जाने काम सरल रेखामा हुँदैन भनी तर्क गरेका छन् । एकपटक खाता वा लेजरमा विश्वास टुटिसकेपछि भौतिक सम्पत्तिको माग गुणात्मक रूपमा बढ्छ ।

मर्मिकन रिपोर्टको सबैभन्दा बलियो प्राविधिक आलोचना इन्टरेस्ट अन बैंक रिजर्भमा केन्द्रित छ । अमेरिकाको केन्द्रीय बैंक फेड हाल नेगेटिभ क्यारीको व्यापारमा फसेको ओलिभर तर्क गर्छन् । ठूलो तरलता भएको वातावरणमा ब्याजदर नियन्त्रण गर्न फेडले बैंकहरूलाई उनीहरूको मौज्दात त्यहाँ राख्नका लागि उच्च दरमा ब्याज तिर्नुपर्छ ।

रिपोर्टले सन् २०२२ देखि फेडका लागि २४५ अर्ब डलरको सञ्चालन घाटा भएको डरलाग्दो तथ्यांक प्रस्तुत गरेको छ ।

तिहासिक रूपमा, फेड ट्रेजरीका लागि नाफाको स्रोत थियो तर आज यो भार बनेको छ । यसले एउटा फिडब्याक लूप सिर्जना गर्छ । मुद्रास्फीति रोक्नका लागि बैंकहरूलाई ब्याज तिर्न फेडले अनिवार्य रूपमा थप पैसा छाप्नुपर्छ जुन आफैंमा मुद्रास्फीतिको कारण बन्छ । ओलिभरले यसलाई मुद्राको लागि डेथ स्पाइरल (विनाशकारी चक्र) को रूपमा पहिचान गरेका छन् ।

त्यससँगै मार्मिकनको रिपोर्टले फेडको अध्यक्षका लागि मनोनित केभिन वार्शका साथै ट्रम्प प्रशासनको ब्याजदर घटाउने र ब्यालेन्स शीट संकुचित गर्ने चाहनाको आलोचना गरेको छ ।

ओलिभर यसलाई गणितीय रूपमा असम्भव ठान्छन् । फेडले वासलात घटाउन ट्रेजरी बोन्डहरू किन्न छोड्यो र औद्योगिकीकरण लागतका कारण घाटा बढ्यो भने क्रेताहरूलाई आकर्षित गर्न ब्याजदर बढ्नैपर्छ । फेडले ब्याजदरहरू घटाउन खोज्यो भने बोन्डहरू किन्नैपर्छ र त्यसले गर्दा ब्यालेन्स शीट विस्तार हुन्छ । यस्तो नीतिगत असंगति प्रभावहीन हुँदै गरेका करेन्सी रेजिमहरूको विशेषता हो ।

मर्मिकन रिपोर्टको ठूलो हिस्सा सुनको मूल्य र सुन खानी कम्पनीका सेयरहरूबीचको भिन्नतामा केन्द्रित छ । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरे पनि (चार्टले प्रति औंस ५६ सय डलरतर्फ संकेत गर्छ) खानी सेयरहरूबाट भने पुँजी बाहिरिएको देखिन्छ ।
ओलिभरले यसलाई नेट प्रेजेन्ट भ्यालु लेभरेज मोडलमार्फत व्याख्या गरेका छन् । बुल मार्केटको सुरुवाती चरणमा खानीहरूलाई जोखिमयुक्त सम्पत्तिका रूपमा बेवास्ता गरिन्छ । तर, सुनको मूल्य उत्पादन लागत (करिब १९ सय डलर प्रतिऔंस) भन्दा टाढा जाँदा नाफाको मार्जिन मात्र बढ्दैन । त्यो विस्फोट हुन पुग्छ ।

उनले यसको कडा उदाहरण दिएका छन् । मार्जिन कम हुँदा सुनको मूल्यमा १ हजार डलरको वृद्धिले नाफा ११ गुणा बढाउन सक्छ जबकि चक्रको पछिल्लो चरणमा सोही वृद्धिले मार्जिन ३ गुणा मात्र बढाउन सक्छ ।

ओलिभरका अनुसार, सुनखानीहरूमा अहिले पर्याप्त चासोको अभाव हुनुले सुनको बजारमा हानाथापको चरण अझै सुरु नभएको संकेत दिन्छ । लगानीकर्ताको पैसा धातुतर्फ सरेको छ तर स्पेकुलेटिभ मनी अझै पनि प्रविधि र निजी इक्विटीको खस्कँदो क्षेत्रमा फसिरहेको छ ।

मर्मिकनको अस्ट्रियाली ढाँचा आन्तरिक रूपमा सुसंगत भए पनि यसले अमेरिकी डलरसँग अब कुनै पनि असाधारण परिस्थिति बाँकी नरहेको अनुमान गर्छ । डलर मिल्कसेक थ्योरीका प्रतिपादक वित्तीय बजारविज्ञ ब्रेन्ट जोनसन अहिलेको विश्व डलरको ऋणमा चुर्लुम्म डुबेकाले गर्दा कुनै पनि संकटले वास्तवमा डलरको माग बढाउँछ र सुनको तुलनामा डलरको मूल्य घटे पनि अन्य मुद्राको तुलनामा डलर झनै बलियो हुन सक्छ भनी तर्क गर्छन् ।

त्यसका साथै फेडको ब्यालेन्स शीटमा शतप्रतिशत सुन रहनुपर्ने ओलिभरको परिकल्पना (जसले प्रतिऔंस २५ हजार १९० डलरको मूल्यतर्फ संकेत गर्छ) ले संसार फेरि विगतको जस्तो हार्ड गोल्ड स्ट्यान्डर्डमा फर्किने विश्वास राख्छ । मौद्रिक प्रणालीको पुनर्गठन सम्भव भए पनि सरकारहरूले फिएट प्रणालीको पूर्ण असफलता स्वीकार गर्नुअघि सेन्ट्रल बैंक डिजिटल करेन्सी, मूल्य नियन्त्रण र सम्पत्ति कर जस्ता हरेक सम्भावित हस्तक्षेपहरू उपयोग गर्ने इतिहासले देखाउँछ ।

मर्मिकन रिपोर्टले तीन–चरणको सुनको बुल मार्केटको दोस्रो चरण रहेको निष्कर्ष निकालेको छ । पहिलो चरण भूराजनीतिक थियो भने दोस्रो चरणमा बजारले फेड अक्षम रहेको अनुभव गराएको छ । तेस्रो चरण सरकारी ऋणपत्रको मृत्युको चक्र हुनेछ । अमेरिकी अर्बपति रे डालियोले सन् २०२१ मा प्रकाशन गरेको पुस्तक ‘प्रिन्सिपल्स फर डिलिङ विथ द चेन्जिङ वर्ल्ड अर्डर’ को बिग डेट क्राइसिसले पनि त्यसलाई संकेत गरेको छ ।

ओलिभरको विश्लेषणले सुनको मूल्यको प्याराबोलिक चाल सुनको शक्तिको संकेत नभई पतन हुँदै गरेको डलरको ज्वरो नाप्ने थर्मोमिटर मात्र भएको गम्भीर चेतावनी दिन्छ । जोखिममुक्त भनिएको ट्रेजरीको सुरक्षा भ्रम मात्र हो र बजारले अन्ततोगत्वा विश्वव्यापी ब्यालेन्स शीटको शुद्धीकरणको मूल्य निर्धारण गर्न थालेपछि मात्र धमाका हुन्छ । लगानीकर्ताहरूले यो सन्देश आत्मसात गर्नुपर्छ ।