
एजेन्सी । लगभग एक शताब्दीयताकै उच्च अमेरिकी महसुलले विश्वव्यापी वृद्धिमा अहिलेसम्म सुस्त प्रभाव पारेको छ तर एसियाली नीतिनिर्माताहरू यो शान्तिबाट ढुक्क छैनन् ।
उनीहरू अस्थिर बजारबाट संकेत लिइरहेका छन् र शक्तिशाली डलरविरुद्ध विद्रोहको योजना बुनिरहेका देखिन्छन् ।
सन् १९६० को दशकमा, फ्रान्सेलीहरूले अमेरिकाको अत्यधिक विशेषाधिकारविरुद्ध केवल आक्रोश मात्र पोख्न सक्थे । तर सन् २०२० को दशकमा चीनले अन्य देशहरूको सहयोगमा यसलाई चुनौती दिन सक्ने स्थितिमा पुगेको हुन सक्छ ।
भुक्तानी प्रवाहमा त्यस विद्रोहको प्रमाण खोज्नेहरूले गलत ठाउँमा हेरिरहेका छन् । आउँदा धेरै वर्षसम्म डलर विस्थापनको प्रक्रिया वित्तीय संरचना वा प्रणालीको थपघट र फेरबदलमा लुकेर रहनेछ । यसको सञ्चयी प्रभाव देखिन समय लाग्नेछ ।
खासै ठूलो चर्चा नगरी चीनको आधिकारिक डिजिटल मुद्रा ई–सीएनवाई ब्याज नआउने नगदबाट वाणिज्य बैंकहरूको ब्याज दिने उत्पादनमा परिणत भएको छ । यो एक गहिरो परिवर्तन हो ।
अहिलेसम्म ई–सीएनवाई अपनाउनुमा समस्या के थियो भने आफ्नो तलब ई–वालेटमा टोकनको रूपमा पाउने चिनियाँ सरकारी कर्मचारीहरूले पनि त्यसलाई तुरुन्तै आफ्नो बैंक खातामा सार्ने गर्थे । अब उनीहरूले त्यसो गर्नुपर्दैन । उनीहरू र उनीहरूका बैंकहरूका लागि ई–सीएनवाई अब नियमित मुद्दती वा बचत खाताभन्दा फरक छैन ।
अलिपे र वीच्याट पे जस्ता लोकप्रिय भुक्तानी एपहरूले यी दुवैसँग काम गर्छन् ।
यस कदमले डलरको वर्तमान वर्चस्वमा खासै ठूलो चोट पुर्याउने छैन । ५० प्रतिशतभन्दा बढी हिस्साका साथ डलर विश्वको सबैभन्दा रुचाइएको भुक्तानी मुद्रा हो जुन युरोको तुलनामा दोब्बरभन्दा बढी र युआनको ३ प्रतिशत हिस्साभन्दा धेरै अगाडि छ ।
तर, चीनभित्रै ई–सीएनवाईको व्यापक प्रयोगले थप डलरीकरणको खतरालाई घटाउँछ । विशेषगरी यस्तो अवस्थामा स्थानीय बचतकर्ताहरू डलर स्टेबलक्वाइन (ब्लकचेनमा कारोबार हुने अमेरिकी मुद्राको १ः१ प्रतिलिपि) तर्फ लाग्न सक्छन् । ई–सीएनवाईमा ब्याज दिनु एक रक्षात्मक कदम हो किनभने गत वर्षको अमेरिकी जिनियस एक्टले स्पष्ट रूपमा स्टेबलकोइन जारीकर्ताहरूलाई ब्याज दिन निषेध गरेको छ ।
तर, स्टेबलकोइन विरुद्धको यो सुरक्षा पर्खाल मात्र पर्याप्त हुने छैन । डलरको प्रभुत्वलाई अझ प्रत्यक्ष रूपमा सामना गर्न चीनले यसलाई विदेशमा आक्रामक उपयोग गर्नुपर्नेछ । तर हङकङ बाहिर बैंकहरूले इन्डोनेसिया र कम्बोडियाका ग्राहकहरूलाई युआनमा आधारित व्यापार वित्त उपलब्ध गराइरहेका छन् । चिनियाँ मुद्रामा अफसोर लिक्विडिटी (विदेशी बजारमा नगद प्रवाह) को पर्याप्त भण्डार छैन ।
यहाँ एम–ब्रिजको प्रवेश हुन्छ । यो बैंक फर इन्टरनेशनल सेटलमेन्ट्स र चीन, हङकङ, थाइल्यान्ड र संयुक्त अरब इमिरेट्सका मौद्रिक अधिकारीहरूको एउटा परीक्षण आयोजना मात्र थियो । उनीहरूका केही वित्तीय संस्थाहरू एउटा साझा ब्लकचेनमा एक ठाउँमा आएका थिए जहाँ उनीहरूले आफ्ना कर्पोरेट ग्राहकहरूको क्रस–बोर्डर दाबीहरू राफसाफ गर्न आफ्ना केन्द्रीय बैंकहरूद्वारा जारी गरिएका प्रोटोटाइप डिजिटल मुद्राहरू साटासाट गर्थे ।
सन् २०२४ मा साउदी अरब यस प्रयोगात्मक भुक्तानी प्लेटफर्ममा सामेल भयो । तैपनि, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यस प्रविधिलाई प्रतिबन्धहरू छल्ने र सम्भावित रूपमा डलरलाई कमजोर पार्ने औजारको रूपमा पहिचान नगरेसम्म यसले खासै ध्यान खिचेको थिएन ।
बीआईएस सन् २०२४ को अन्त्यमा यस परियोजनाबाट पछि हट्यो तर साझेदार देशहरूले यसलाई अघि बढाए । हालै प्रकाशित एट्लान्टिक काउन्सिलको प्रतिवेदन अनुसार, यसको सुरुवातदेखि हालसम्म ४ हजारभन्दा बढी क्रस–बोर्डर कारोबारहरू भएका छन् जसको कुल मूल्य लगभग ५५.४९ अर्ब डलर पुगेको छ जुन सन् २०२२ को तुलनामा २५ सय गुणा बढी हो । यस राफसाफ मूल्यमा ई–सीएनवाईको हिस्सा ९५ प्रतिशतभन्दा बढी छ ।
एमब्रिज अझ ठूलो स्वरूपमा परिणत हुन सक्ने रिपोर्टहरू आएका छन् । रोयटर्सका अनुसार, आफ्नै केन्द्रीय बैंक डिजिटल मुद्रा विकास गरेको भारतले ब्रिक्स प्लस भनिने उदीयमान बजारहरूको समूहका सीबीडीसीहरूलाई जोड्ने प्रस्ताव गर्ने सोचमा छ ।
यो विचार वाशिङटनका लागि बिल्कुलै अस्वीकार्य हुनेछ । नयाँ दिल्लीले ट्रम्प प्रशासनको भन्सार शुल्कको जेलबाट बाहिर निस्कन रुसी तेल किन्न बन्द गर्न सहमति जनाइसकेको हुनाले रुस र इरानलाई पनि समावेश गर्ने भुक्तानी करिडोरप्रति उसको उत्साह कायम रहला कि नरहला भन्न गाह्रो छ ।
डलरविरोधी गठबन्धन बन्न समय लागे पनि बेइजिङले आफ्नो प्रयास जारी राख्नेछ । केही वर्षअघि चीनका राष्ट्रपति सी चिनपिङले अन्तर्राष्ट्रिय व्यापार, लगानी र विदेशी मुद्रा बजारमा व्यापक रूपमा प्रयोग हुने र सञ्चित मुद्राको स्थिति प्राप्त गर्ने एउटा शक्तिशाली मुद्रा निर्माण गर्नुपर्ने चीनको आवश्यकतामा दिएको जोडलाई लगानीकर्ताहरूले एउटा खोक्रो दाबीको रूपमा खारेज गरिदिएका हुन्थे ।
अहिले त्यस्तो अवस्था छैन । बजारले डलरको विशिष्टतामाथि प्रश्न उठाउन थालिसकेको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भन्सार युद्ध सुरु गरेपछि अमेरिकी बोन्डको प्रतिफलमा आएको अस्वाभाविक वृद्धिको कारण खोतल्दै न्युयोर्क विश्वविद्यालयका प्राध्यापक विरल आचार्य र टुमास लारिट्सले देहायका निष्कर्ष निकालेका छन्, ‘लगानीकर्ताहरूले ट्रेजरीको अल्पकालीन फाइदालाई महत्त्व दिए पनि यसको दीर्घकालीन सुरक्षा गुणहरूमा विशेषगरी विश्वास गुमाएका छन् ।’ उनीहरूले लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएको प्रमाण पनि फेला पारेका छन् ।
तर, सुन भुक्तानीको मुद्रा हुन सक्दैन । दैनिक ९.६ ट्रिलियन डलरको विदेशी मुद्रा बजारमा ८९ प्रतिशत कारोबारमा डलरको उपस्थिति हुन्छ । यस विशाल हिस्साको करिब दुई–पाँच भाग यसको वाहन–मुद्रा स्थितिका कारण हो ।
कोषहरू पहिले डलरमा रूपान्तरण गरिन्छ र त्यसपछि प्रापकको बैंक खाताले स्वीकार गर्ने मुद्रामा पुनः रूपान्तरण गरिन्छ । एउटा टोकनाइज्ड र ब्याज दिने ई–सीएनवाईले चीनभित्र र विश्वभरका कारोबारहरू राफसाफ गर्दा डलर र स्विफ्ट प्रणालीलाई पूर्ण रूपमा बाइपास गर्नेछ ।
अब यस्तो उत्कृष्ट प्रणाली आविष्कार भइसकेको छ र यसलाई खिया लाग्न दिइने छैन ।








प्रतिक्रिया