राष्ट्रिय गौरवका आयोजनाको अर्धवार्षिक प्रगति १५% मात्रै, ६७ अर्बको बजेटबाट १० अर्ब खर्च


काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटबाट राष्ट्रिय गौरवका आयोजनामा जम्मा १५ प्रतिशत मात्रै प्रगति भएको तथ्यांक सार्वजनिक भएको छ ।

अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको चालु आवको पहिलो ६ महिनकाको अर्धवार्षिक समीक्षा अनुसार राष्ट्रिय गौरवका आयोजालाई ७६ अर्ब ८ अर्ब ६४ लाख रुपैयाँको बजेट विनियोजन भएको थियो । यसबाट जम्मा १० अर्ब ३९ करोड ३९ लाख मात्रै खर्च भएको छ । यो खर्च जम्मा १५.४९ प्रतिशत भएको पनि अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

यो अवधिसम्ममा सम्पन्न भएका राष्ट्रिय गौरवका आयोजनाहरूमा माथिल्लो तामाकोशी जलविद्युत आयोजना, गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा मेलम्ची खानेपानी आयोजना (पहिलो चरण) को निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् ।

कार्यान्वयनमा रहेका २३ वटा राष्ट्रिय गौरवका आयोजनाको आयोजनागत भौतिक प्रगतिमा आर्थिक वर्ष २०८१/ ८२ सम्मको पुष्पलाल राजमार्गको ८१.७३ प्रतिशत, हुलाकी राजमार्गको ७४.३५ प्रतिशत, र काठमाडौं(तराई द्रुतमार्गको ४२.१३ प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।

यी आयोजनामा जग्गा प्राप्ति र मुआब्जा वितरणमा समस्या, वन क्षेत्रको उपयोगमा जटिलता, अन्तर(निकाय समन्वयको अभाव र स्थानीय स्तरका अवरोधहरू मुख्य समस्याका रूपमा रहेका छन्।

आयोजनाको पूर्व तयारी, जग्गा प्राप्ति, सम्पन्न गरेर मात्र ठेक्का लगाउने, छुट्टै कानुनी र प्रशासनिक संरचना तयार गर्ने र आयोजना प्रमुखको पदावधि सुनिश्चित गर्ने जस्ता समाधानका उपायहरू पहिचान गरिएको पनि उल्लेख छ ।