चामल बेच्ने शिवम् एग्रोको व्यपार १३ प्रतिशतले बढ्यो, कतिको गर्‍यो कारोबार ?


काठमाडौं । शिवम् एग्रो इन्डष्ट्रिजको व्यापार १३ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १३ प्रतिशतले बढेको हो ।

सन् २०२४ मा १ अर्ब २२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले गत आवमा १ अर्ब ३८ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ६२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले गत आवमा १.०४ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा ०.७५ प्रतिशत खुद नाफा कमाएको थियो । त्यस्तै, कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६१ करोड ३० लाख रुपैयाँको व्यापार गरिसकेको छ । सन् २०२४ को तुलनामा व्यापार कम भएको कम्पनीले जनाएको छ ।

कम्पनीको कुल नगद सञ्चय घटेको छ । सन् २०२४ मा २ करोड ८० लाख रुपैयाँ रहेकोमा हाल २ करोड २० लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

सन् २०१२ मा स्थापना भएको कम्पनीले धान प्रशोधन गरी विभिन्न प्रकारका चामल उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको चामल विभिन्न ७ वटा ब्रान्डको ५ केजीदेखि ३० केजीसम्मको प्याकेजिङमा बिक्री वितरण गर्दै आएको छ ।

शिवजीप्रसाद शाह कल्वार अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३४ करोड २० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३० करोड ६२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ३ करोड ५८ लाख रुपैयाँको रेटिङ गराएको हो ।