क्लिकमान्डु रिसर्च

भदौ २३/२४ को घटनाले आर्थिकभन्दा धेरै मनोवैज्ञानिक क्षति पुग्यो, नेपाललाई हाम्रो झन् धेरै खाँचो छ

‘अझ धेरै लगानी लिएर आउनुहोस्’

63
Shares

सिराहाको एउटा पिछडिएको गाउँमा जन्मे–हुर्केको मलाई ईश्वरको अनुकम्पा र कठोर संघर्षले जीवनमा अगाडि बढ्ने अवसर दियो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्थापक हुँदै विगत ३० वर्षभन्दा लामो समयदेखि म व्यावसायिक क्षेत्रमा सक्रिय छु। ‘नेपाल मेडिसिटी’ लगायतका स्वास्थ्य र उद्योग क्षेत्रका परियोजनाहरूमा १० अर्ब रुपैयाँभन्दा बढीको पुँजी लगानी गरेर हामीले बागमती र मधेश प्रदेशमा १ हजारभन्दा बढी कर्मचारीहरूलाई प्रत्यक्ष रोजगारी दिइरहेका छौँ । तर, भदौ २३ र २४ गतेको ‘जेनजी प्रदर्शन’ का क्रममा जे–जस्ता घटनाहरू घटे त्यसले मलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ ।

त्यसदिन मेरो परिवारका लागि निकै भयानक अवस्था बन्यो । आन्दोलनकारीको समूह भैंसेपाटीस्थित मेरो घरमा प्रवेश गर्दा मेरो परिवारका सदस्यहरू भित्रै थिए र उनीहरू ‘केही मिनेट’ ले मात्र बाँच्न सफल भए ।

सन् २००६ मा सहदेव शमशेर राणासँग खरिद गरी मैले र मेरी धर्मपत्नी डा. समता प्रसादले बडो जतनले पुनर्निर्माण गरेको त्यो १५० वर्ष पुरानो ऐतिहासिक घर अहिले खरानी भएको छ । त्यो घर मेरो संघर्ष र मेरा दुई छोरी र छोराको बाल्यकालको साक्षी मात्र थिएन, ऐतिहासिक वास्तुकलाका हिसाबले देशकै धरोहर थियो । धेरैवटा फिल्मसमेत सुटिङ भएको उक्त घरमा अहिले डढिरहेका सम्झनाहरूको दुर्गन्ध मात्र बाँकी छ ।

आन्दोलनका क्रममा मेरो व्यवसाय, घर र गाडीमा आगजनी गरियो जसले ठूलो भौतिक र आर्थिक क्षति पुग्यो । आगजनी, लुटपाट र तोडफोडबाट १ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष नोक्सानी भएको छ । तर, यो आर्थिक क्षतिभन्दा पनि ठूलो ‘मनोवैज्ञानिक क्षति’ हो जसले मेरो मनोबलमा अत्यधिक असर पारेको छ ।

जेनजी आन्दोलनका क्रममा मसहितका व्यवसायीको अन्य उद्योग, व्यापार र व्यक्तिगत सम्पत्तिमाथिको आक्रमणपछि मलाई निजी सम्पत्ति र व्यवसायमाथि यस्तो आक्रमण हुनुको मुख्य कारण ‘सम्पत्ति कमाउने मानिसमाथि हेर्ने नकारात्मक दृष्टिकोण’ र ‘व्यक्तिगत रिसइबी वा कुण्ठा’ नै हो भन्ने लागेको छ ।

आन्दोलनपछिको राहत, क्षति मूल्यांकन र उद्यमीको आत्मविश्वास पुनःस्थापनाका लागि वर्तमान सरकारले चालेका कदमप्रति म सन्तुष्ट हुन सकेको छैन ।

नयाँ सरकार गठन भएपछि भ्रष्टाचार नियन्त्रण र सुशासनको जुन अपेक्षा गरिएको थियो, त्यस उपलब्धिको साटो अवस्था ‘झन् बिग्रिएको’ मैले महसुस गरेको छु । यसले गर्दा लगानीको वातावरण अत्यधिक कमजोर भएको छ । जेनजी आन्दोलनपछि व्यावसायिक जगत र कर्मचारीहरूमा एक किसिमको डर र अन्योलको अवस्था व्याप्त छ ।

यति धेरै प्रतिकूलताका बावजुद म हार मान्ने पक्षमा भने छैन । म अझै पनि थप लगानी गर्न र व्यवसाय विस्तार गर्न तयार छु । तर, लगानीमैत्री वातावरण बनाउन राज्य र हामी उद्यमीले ध्यान दिनैपर्छ । सरकारले सुरक्षाको अनुभूति दिलाउन आक्रामक रूपमा प्रस्तुत हुनुपर्छ र लुटपाटमा संलग्नलाई कडा कानुनी कारबाही गर्नुपर्छ ।

त्यस्तै लगानीकर्ताको आत्मविश्वास बढाउन उनीहरूलाई सम्मान गर्ने र पुराना गल्तीहरूको ‘कट अफ डेट’ तोकेर अगाडि बढ्ने नीति लिनुपर्छ । त्यस्तै हामी व्यवसायीहरूले परोपकारी कार्य बढाउनुपर्छ, एक–अर्काविरुद्धका नकारात्मक प्रचारबाजी बन्द गर्नुपर्छ र मध्यम वर्गको संख्या बढाउने कार्यक्रम ल्याउनुपर्छ ।

माओवादी द्वन्द्वका बेला हरियो पासपोर्ट बोकेर हिँड्दा विमानस्थलमा हेपिएका अनगिन्ती अनुभव मसँग छन् । आफ्नो देश विपन्न हुञ्जेल व्यक्तिगत समृद्धिको कुनै अर्थ हुँदैन । मेरो घर जलाइएको घटनाबाट हतोत्साही नभई विश्वभरका नेपाली साथीहरूलाई म भन्न चाहन्छु– नेपालमा अझ धेरै लगानी लिएर आउनुहोस् ।

हाम्रा संरचनाहरू फेरि सिर्जना गर्नुछ । जेनजी आन्दोलनपछि अब नेपालमा शान्ति र विधिको शासन स्थापित हुनेछ भन्नेमा विश्वास गरौं । देशभित्र र बाहिर रहेका सबै नेपालीले हातेमालो गरे मात्र सुरक्षित र सुन्दर नेपालको सिर्जना हुनेछ ।

(प्रस्तुत लेख ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययनका क्रममा सोधिएका प्रश्नहरुमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षसमेत रहेका व्यवसायी उपेन्द्र महतोले दिएको जवाफका आधारमा तयार पारिएको हो ।)