नेपाल लगानीको लागि उपयुक्त ठाउँ हो : एनसेल सीईओ फोले


काठमाडौं । एनसेलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले नेपाल लगानीको लागि उपयुक्त ठाउँ भएको बताएका छन् ।

आइतबार क्लिकमान्डु डटकमद्वारा प्रकाशित ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण २०८२’ अध्ययन प्रतिवेदन (क्लिकमान्डु रिसर्च) प्रतिवेदन सार्वजनिक कार्यक्रममा सीईओ फोलेले यस्तो बताएका हुन् ।

नेपालमा विगत दुई दशकदेखि लगानी गरिरहेको विषय उल्लेख गर्दै फोलेले नेपाल लगानीका लागि विश्वकै एक उत्कृष्ट र उपयुक्त गन्तव्य भएको दोहोर्याए ।

‘हामी अहिले एनसेललाई बहुमत नेपाली स्वामित्व रहने गरी नेपाली कम्पनीकै रूपमा रूपान्तरण गर्ने प्रक्रियामा छौं । यसले नेपालको अर्थतन्त्र र बजारप्रति हाम्रो दीर्घकालीन प्रतिबद्धता र विश्वासलाई झल्काउँछ,’ सीईओ फोलेले भने ।

उनले व्यवसायमा आउने उतारचढाव र अवरोधहरूलाई नकारात्मक रूपमा लिन नहुने तर्क पनि राखे । सफल व्यवसाय र सरकारले चुनौतीलाई खतरा नभई अवसरको रुपमा लिनुपर्ने उनको तर्क छ ।

नेपालको भौगोलिक अवस्थितिको चर्चा गर्दै उनले नेपाल दुई ठूला अर्थतन्त्र भएका मुलुकहरूको बीचमा रहेकाले यहाँ लगानीका प्रचुर सम्भावनाहरू रहेको औंल्याए । उनले क्यानडाको उदाहरण दिँदै नेपालले आफ्नो छिमेकी बजारहरूबाट फाइदा लिन सक्ने संकेत गरे ।