क्लिकमान्डुको प्रतिवेदनले सरकारलाई मार्गनिर्देश गरेको गृहमन्त्री अर्यालको भनाइ


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी विद्रोहपछिको अवस्थामा निजी क्षेत्रले भोगेको भौतिक क्षतिभन्दा मनोवैज्ञानिक क्षति धेरै बेहोरेको क्लिकमान्डुको प्रतिवेदनको निष्कर्षमा सहमति जनाएका छन् ।

क्लिकमाण्डु डटकमले आयोजना गरेको क्लिकमाण्डु सिम्पोजिएम कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले आइतबार सहमति जनाएका हुन् ।

गृहमन्त्री अर्यालले जेनजी आन्दोलनपछि लगानीकर्ताको आत्मविश्वास घट्नु भनेको केवल व्यापार घट्नु मात्र नभएको बताए । यसले अर्थतन्त्रमा योगदानको दर घट्नुका साथै रोजगारीको अवसरसमेत कम हुने भएकाले यसबाट अन्तिममा राज्यको क्षमता नै कमजोर हुने जानकारी दिए ।

‘जेनजी आन्दोलनपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण निर्माण गर्ने जिम्मेवार सरकार र लगानीको लागि तत्पर निजी क्षेत्रलाई एकै मञ्चमा राखेर आयोजना भएको यो छलफल कार्यक्रममा सहभागी गराउनु भएकोमा धन्यवाद दिन चाहन्छु,’ गृहमन्त्री अर्यालले भने, ‘आजको यो कार्यक्रम सामान्य बहस होइन, बदलिँदो परिवेशमा देशमा लगानीको वातावरण निर्माणका लागि चालिएको एक महत्वपूर्ण कदम हो । क्लिकमाण्डु रिसर्चले सार्वजनिक गरेको अध्ययनले जेनजी विद्रोहपछिको अवस्थामा निजी क्षेत्रले भोगेको भौतिक क्षतिभन्दा गहिरो मनोवैज्ञानिक क्षति औँल्याएको छ । लगानीकर्ताको आत्मविश्वास घट्नु भनेको केवल व्यापार घट्नु होइन, यसको अर्थ रोजगारी घट्नु, राजस्व घट्नु र अन्ततः राज्यको क्षमता कमजोर हुनु हो ।’

लगानीकर्ताको माग लगानीको सुरक्षित वातावरण भएको बताउँदै गृहमन्त्री अर्यालले भने, ‘लगानीकर्ताको सुरक्षा, उद्योग व्यवसाय आदिको सुरक्षा पनि एक महत्त्वपूर्ण तत्व हो । सुरक्षाकर्मीको उपस्थितिले मात्र सुरक्षा सुनिश्चित हुँदैन । सुरक्षा भनेको कानुन लागू हुन्छ भन्ने विश्वास, सम्पत्तिमाथि आक्रमण हुँदैन भन्ने भरोसा र दण्डहीनताले प्रश्रय नपाउने प्रत्याभूति हो । राजनीतिक अस्थिरता, हिंसात्मक गतिविधि र दण्डहीनताले निजी क्षेत्रलाई राज्यबाट टाढा धकेल्ने अवस्था आउँछ । यो अवस्था दीर्घकालीन रूपमा राष्ट्रको लागि खतरनाक छ ।’

उद्योग, व्यवसाय र लगानीको सुरक्षा गर्नु राज्यको प्राथमिकता भएको जानकारी गराउँदै उनले कुनै पनि नाममा हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य नहुने जानकारी दिए ।

‘म विश्वास दिलाउन चाहन्छु, यो अध्ययनमा उठाइएका निष्कर्षहरू सरकारको लागि आलोचना मात्र होइन सुधारको स्पष्ट रोडम्याप पनि हो, राज्य र निजी क्षेत्र बीच विश्वासको पुल पुनर्निर्माण नगरी आर्थिक पुनरुत्थान सम्भव छैन । आजको यो बहस त्यस दिशामा महत्त्वपूर्ण कदम रहेको छ,’ गृहमन्त्री अर्यालले भने, ‘प्रतिकूल परिस्थितिका बाबजुद निजी क्षेत्रले उच्च हौसला कायम राखेकाले देशको अर्थतन्त्र पुनः गतिशील बन्दै गएको अवस्था छ । यसको लागि नेपाल सरकारको तर्फबाट समग्र निजी क्षेत्रलाई धन्यवाद दिन चाहन्छु । वर्तमान नागरिक सरकार जेनजी जनआन्दोलन पश्चातको त्रासदीपूर्ण अवस्थामा गठन भएको तथ्य जगजाहेर छ । तत्कालीन त्रासदीपूर्ण अवस्थाबाट आजको अवस्थासम्म आइपुग्दा स्थितिलाई सामान्यीकरण गर्दै प्रतिनिधिसभाको निर्वाचनको सङ्घारमा आइपुगेका छौँ ।’

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई निजी क्षेत्रले समेत अपनत्व लिएर स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्न गृहमन्त्री अर्यालले आग्रह गरे ।

‘जेनजी विद्रोहपछिको लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण सम्बन्धी रिपोर्ट प्रस्तुत भयो र यसमा जे जस्तो यो पब्लिकको पर्सेप्सन खास गरेर सरोकारवालाको पर्सेप्सन आएको छ, त्यसलाई मैले ध्यान दिएर गम्भीरतापूर्वक लिएको छु । अहिले खाली प्रतिक्रिया दिनुभन्दा पनि यसलाई हामीले छलफलको विषय बनाउँछौँ । यसलाई हामी रेस्पोन्सिभ भएर नै मैले धारणाहरू बनाउनेछु,’ उनले भने, ‘कतिपय विषयवस्तुहरू गृह मन्त्रालयसँग सम्बन्धित छन्, ती विषयमा पनि हामीले मन्त्रालयमा गएर छलफल गर्नेछौँ भनी म आश्वस्त पार्न चाहन्छु । यथार्थपरक अध्ययन प्रस्तुति गर्नुभएकोमा क्लिकमाण्डु टिमलाई धन्यवाद दिन चाहन्छु र यहाँबाट उठेका सुझावहरू नीतिगत तहमा गम्भीरतापूर्वक लिइने प्रतिबद्धता व्यक्त गर्दछु ।’