आर्थिक क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउनुपर्छः अञ्जन श्रेष्ठ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण परिवर्तन हुन जरुरी भएको बताएका छन् ।

आइतबार क्लिकमान्डु डटकमद्वारा प्रकाशित ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण २०८२’ अध्ययन प्रतिवेदन (क्लिकमान्डु रिसर्च) प्रतिवेदन सार्वजनिक कार्यक्रममा श्रेष्ठले यस्तो बताएका हुन् ।

‘निजी क्षेत्र भनेको मुलुकको अर्थतन्त्रको महत्वपूर्ण धरोहर हो । यो पुस्तान्तरण हुँदै जाने अर्थतन्त्रको महत्वपुर्ण हिस्सा भएपनि पछिल्लो समय यही क्षेत्रप्रति आक्रमण हुँदै आएको छ,’ उनले भने, ‘अब यो विषय सुधार गरेर निजी क्षेत्रको महत्वको विषय नयाँ पुस्तालाई पनि बुझाउँदै जान आवश्यक छ ।’

उनले निजी क्षेत्रको मनोबल बढाउन सबैले सकारात्मक सन्देश दिने काम गर्नुपर्ने औंल्याउँदै आफूहरुले पनि खरानीबाट उठ्छौं भनेर सकारात्मक ऊर्जा दिइरहेको बताए ।

‘स्पष्टरुपमा भन्नुपर्दा निजी क्षेत्रले भोगेको विषय नै आर्थिक क्षेत्रको विकासमा सकारात्मक सोच भएको स्थिति हो । राजनीतिक दलले पनि आर्थिक एजेन्डालाई अघि बढाएका छैनन्,’ उनले भने, ‘निजी क्षेत्रको काम सबैलाई बाँड्ने भन्ने होइन्, त्यसैले आम्दानी गर्नुलाई गलत ढंगमा मात्रै बुझ्नु हुँदैन ।’