१०बैंकको लोन पोर्टफोलियो रिभ्यु

औसत निष्क्रिय कर्जा ७.७ प्रतिशत, २ बैंकको १० प्रतिशत माथि

बिग्रिएको ऋण तिर्न नयाँ ऋण दिएको भन्दै उठायो प्रश्न


काठमाडौं । १० ठूला वाणिज्य बैंकहरूको ऋण पोर्टफोलियो रिभ्युको रिपोर्ट ‘हाउल्याडर युनुस एण्ड कम्पनी’ले नेपाल राष्ट्र बैंकलाई बुझाएको छ ।

१० ठूला वाणिज्य बैंकहरूको अन्तर्राष्ट्रिय स्तरको लेखापरीक्षकबाट लोन पोर्टफोलियो रिभ्यु गर्दा औसतमा ७.७ प्रतिशत निष्क्रिय पुगेको पाइएको हो ।

नेपाल राष्ट्र बैंकले लोन पोर्टफोलियो रिभ्युका लागि गरेको छनोट प्रक्रियामा बंगलादेशको हाउल्याडर युनुस एण्ड कम्पनीलाई छनोट गरेको थियो । उक्त लेखापरीक्षण फर्मले राष्ट्र बैंकसँगको समन्वयमा गरेको लोन पोर्टफोलियो रिभ्युमा औसतमा २ प्रतिशत विन्दुभन्दा बढीले निष्क्रिय कर्जा बढेको देखिएको राष्ट्र बैंक स्रोतले क्लिकमान्डुलाई बतायो ।

‘१० वटा बैंकहरूको निष्क्रिय कर्जा ४ देखि ११ प्रतिशतसम्म रहेको प्रतिवेदन बुझाएको छ,’ राष्ट्र बैंक स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘१० मध्ये २ बैंकको निष्क्रिय कर्जा १० प्रतिशतभन्दा माथि पुगेको छ । एक बैंकको करिब ११ प्रतिशत रहेको छ । सबैभन्दा कम हुनेको पनि ४ प्रतिशतभन्दा माथि पुगेको छ ।’

आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको तथ्यांकको आधारमा बंगलादेशको हाउल्याडर युनुस एण्ड कम्पनीले १० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु गरेको हो । चैत मसान्तमा १० वाणिज्य बैंकको औसत निष्क्रिय कर्जा करिब ५.५ प्रतिशत प्रकाशित गरेकोमा लोन पोर्टफोलियो रिभ्युमा औसतमा ७.७ प्रतिशत देखिएको स्रोतले क्लिकमान्डुलाई बतायो ।

बिग्रिएका ऋण तिर्न नयाँ ऋण

बैंकहरूको लोन पोर्टफोलियो रिभ्यु नै गरेकोले प्रतिवेदनमा लोनका कैफियतहरू नै औंल्याएको राष्ट्र बैंक स्रोतले जनाएको छ । ‘लोन पोर्टफोलियो रिभ्युमा कर्जामा एभरग्रिनिङ प्राक्टिस बढी पाइएको विषय उठाएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘बिग्रिएको ऋण सेटलमेन्ट गर्न नयाँ ऋण दिने गरेको पाइएको रिपोर्टमा उल्लेख छ ।’

केही बैंकहरूको पुँजीकोष अनुपात पनि नपुगेको पाइएको हो । हिमालयन र राष्ट्रिय वाणिज्य बैंकमा कुल पुँजीकोष नपुगेको रिपोर्टमा आएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

२०८१ चैतमा बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणमा हिमालयन बैंकको पुँजीकोष अनुपात १०.८४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ११.०१ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई न्यूनतम पुँजीकोष ११ प्रतिशत तोकेको छ । हिमालयन बैंकको प्रकाशित वित्तीय विवरणमा नै पुँजीकोष नपुगेको देखिन्छ भने राष्ट्रिय वाणिज्य बैंकको राष्ट्र बैंकले तोकेको न्यूनतम सीमामा रहेकोमा लोन पोर्टफोलियो रिभ्युमा पुँजीकोष अनुपात नपुगेको पाइएको हो ।

२ वटै बैंकको पुँजीकोष केही नपुग भए पनि शीघ्र सुधारात्मक कारबाही लगाउनुपर्ने अवस्था भने नभएको राष्ट्र बैंक स्रोतले बतायो । यस्तै ४ बैंकको प्राथमिक पुँजीकोष अनुपात नपुगेको देखिएको हो ।

गत चैतसम्म बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणमा हिमालयन र कुमारी बैंकका प्राथमिक पुँजीकोष नपुगेको देखिएको थियो । राष्ट्र बैंकको व्यवस्था अनुसार वाणिज्य बैंकहरूको न्यूनतम प्राथमिक पुँजीकोष अनुपात ८.५ प्रतिशत हुनुपर्नेमा हिमालयन बैंकको ८ प्रतिशत र कुमारी बैंकको ७.३१ प्रतिशत मात्रै थियो ।

हाउल्याडर युनुस एण्ड कम्पनीले गरेको लोन पोर्टफोलियो रिभ्युमा एनआईसी एशिया र प्रभु बैंकको पनि प्राथमिक पुँजीकोष अनुपात राष्ट्र बैंकले तोके अनुसार नपुगेको देखिएको हो । २०८१ चैतको वित्तीय विवरणमा एनआईसी एशिया बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.०५ प्रतिशत र प्रभु बैंकको ८.६७ प्रतिशत थियो ।

हाउल्याडर युनुस एण्ड कम्पनीले लोन पोर्टफोलियो रिभ्यु प्रतिवेदनमा बैंकहरूले कर्जा एभरग्रिनिङ गर्ने, ऋणीको वित्तीय प्रक्षेपण (फाइनान्सियल प्रोजेक्सन) वास्तविक नभई बढी ऋण दिन फाइनान्सियलमा बढाईचढाई गर्ने गरेको जस्ता गम्भीर कैफियतहरू औंल्याएको छ । त्यस्तै बैंकहरूले भ्यालुएसनमा एउटै अभ्यास नभई बैंक अनुसारको अभ्यास भएको विषय पनि उठाएको छ ।

यस्तै निष्क्रिय कर्जाको वर्गीकरण पनि राष्ट्र बैंकले तोकेको व्यवस्था अनुसार नगरेको पाइएको हो । भाखा नाघेको कर्जामा भाखा नाघेको अवधि अनुसार कर्जा वर्गीकरण गरी कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेमा त्यस्तो नगरेको पाइएको हो ।

अन्तर्राष्ट्रिय लेखापरीक्षण फर्म हाउल्याडर एण्ड कम्पनीले बुझाएको प्रतिवेदनमा राष्ट्र बैंकले छलफल गरेर सम्बन्धित बैंकलाई आफ्नो रिभ्यु गर्नका लागि पठाएको राष्ट्र बैंकले जनाएको छ । प्रतिवेदनमा कैफियत देखाइएको कतिपय फाइलमा बैंकहरूले आवश्यक डिफेन्स गरेर त्यसमा स्पष्ट पार्न सक्ने राष्ट्र बैंकका ती अधिकारीले बताए ।

Skip This