
काठमाडौं । केडिया अर्गनाइजेशन र द रिलायन्स ग्रुपको संयुक्त लगानी रहेको दुई कम्पनीले एक वर्षमा पौने २ अर्ब रुपैयाँको कारोबार गरेका छन् ।
गत आर्थिक वर्षमा यति पोलिकेम र यति कार्पेट कम्पनीले १ अर्ब ७८ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो ।
गत आवमा यति पोलिकेम कम्पनीले १ अर्ब १३ करोड ८० लाख रुपैयाँ र यति कार्पेटले ६४ करोड ३० लाख रुपैयाँको कारोबार हो । सन् २०२४ मा १ अर्ब ३४ करोड ५० लाख रुपैयाँको कारोबार गरेको यति पोलिकेम कम्पनीले सन् २०२३ मा १ अर्ब २२ करोड ४० लाख, सन् २०२२ मा १ अर्ब ४९ करोड १० लाख र सन् २०२१ मा १ अर्ब २१ करोड ५० लाखको व्यापार गरेको थियो ।
कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १५ प्रतिशतले घटेको छ ।
सन् २०११ मा स्थापना भएको कम्पनीले पीभीसी कार्पेट उत्पादन गर्दै आएको छ । केडिया अर्गनाइजेशन र द रिलायन्स ग्रुपको बराबर हिस्सा रहेको कम्पनीले पीभीसी कार्पेट, पीभीसी कोयल म्याट, रेक्जिन कोटेड फ्याब्रिक र लक्जिरी भिनाइल टायल उत्पादन गरी कारोबार गर्दै आएको छ । कम्पनीले लक्जरी भिनायल टाल हालै मात्रै सार्वजनिक गरेको नयाँ सामग्री हो ।
कम्पनीले उक्त सामग्री उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत र अन्य देशबाट आयात गर्दै आएको छ । कम्पनीले सो सामग्री उत्पादनका लागि हेटौंडामा छुट्टै उद्योग रहेको छ । जुन हेटौंडा औद्योगिक जिल्लामा रहेको छ ।
कम्पनीले वार्षिक १४ हजार ४ सय टन पीभीसी कार्पेट, ३ हजार ६ सय मेट्रिक टन रेक्जिन कोटेड फ्याब्रिक, ४ हजार मेट्रिक टन कोयल म्याट र ४ हजार मेट्रिक टन नयाँ सर्वाजनिक गरेको एलभीटी उत्पादन क्षमता छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९२ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३४ करोड १० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५८ करोड रुपैयाँको रेटिङ गराएको हो ।
त्यस्तै, यति कार्पेटले सन् २०२४ मा ५६ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा ४५ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ३० करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा १९ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीका व्यापार हरेक वर्ष बढ्दै गएको देखिन्छ । गत आवमा कम्पनीको व्यापार १३ प्रतिशतले बढेको छ ।
सन् २०१८ मा स्थापना भएको कम्पनीले नन–ओभन, टफ्टेड एन्ड ग्रास कार्पेट उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको कार्पेट यति ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी कार्पेट उत्पादन गर्दै आएको छ । अनिलकुमार केडियाको २५ प्रतिशत, आयुष केडियाको १५ प्रतिशत, नरेन्द्रकुमार अग्रवालको १३ प्रतिशत र लोकेश तोडीको १३ प्रतिशत स्वामित्व छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३२ करोड ९० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २८ करोड रुपैयाँको रेटिङ गराएको हो ।









प्रतिक्रिया